• The Public Today
  • उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक


    मुख्यमन्त्रीदेखि राष्ट्रिय मानवअधिकार आयोगसम्म सहयोगको याचना

    एम के माझी
    सप्तरी, भदौं ८ गते । उपचारका क्रममा भएको खर्च तिर्न नसक्दा एक मुसहर दम्पती अस्पतालमै बन्धक अवस्थामा बस्न बाध्य भएका छन् । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का अति विपन्न शिवचन्द्र सदा र उनको पत्नी मिलियादेवी अहिले निको भएपनि उपचार खर्च तिर्न नसक्दा विगत ८ दिनदखि बिराटनगरस्थित गोल्डेन हस्पिटल प्रालिमा बन्धक अवस्थामा राखिएका छन् ।

    शिवचन्द्रको ६६ हजार ९ सय र मिलियादेवीको ५८ हजार ९ सयका साथै औषधीको ५० हजार समेत गरी कुल उपचार खर्च १ लाख ७५ हजार पुगेको सो अस्पतालका प्रबन्धक मो। ज्याउल हकले जानकारी दिएका छन् । घरमा पसेको बाढीको पानी निकास दिने क्रममा उत्पन्न विवादमा एक पक्षको कुटाईबाट गम्भिर घाइते भई साउन ६ गते सो अस्पतालमा भर्ना भएका सदा दम्पत्तिको सम्पूर्ण उपचार खर्च १ लाख ७५ हजार रुपैयाँ पुगेपनि त्यति रकम तिर्ने हैसियत नहुँदा अहिले अस्पतालमै बस्न बाध्य भएका छन् ।

    “थोर बहुत रकम भएको भए बिचार गर्न सकिन्थ्यो, अस्पतालका प्रबन्धक हकले भने, ‘एक महिना लामो उपचारका कारण रकम ठूलो भएको छ र हाम्रो पनि केही समस्या र बाधयता छ ।’ सदा दम्पत्ति साउन ३२ गते निको भएपनि उपचार खर्च बुझाउन नसक्दा डिस्चार्ज गर्न नसकिएको उनको भनाई छ ।

    यता शिवचन्द्रका भाई पवनले सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भूमि, ब्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साह र राष्ट्रिय मानवअधिकार आयोगलाई एक पत्र पठाई उपचार खर्च तिरेर दाजु भाउजुको उद्दार तथा मरनासन्न हुने गरी कुटपिट गरी यस्तो अवस्थामा पु(याउने सोही वडाका दिना साह र उनका परिवारमाथि कारवाहीको माँग गरेका छन् ।

    पत्रमा गत साउन ५ गते सदाको घरमा जमेको वर्षाको पानी निकास गर्ने क्रममा विवाद उत्पन्न हुँदा दिना साह र उनका परिवारजनले घरेलु हतियारको प्रयोग गरि दाजु भाउजुलाई मरनासन्न हुने गरी कुटपिट गरेको र सोही दिन गम्भिर अवस्थामा उनीहरुलाई बिराटनगरस्थित गोल्डेन हस्पिटलमा भर्ना गरिएको उल्लेख छ । पत्रमार्फत पीडकलाई जातिय भेदभाव तथा कसुर सजाय ऐन २०६८ अन्तरगत कारवाहीको माग समेत गरिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस