• The Public Today
  • बालबालिकाका लागि भाइरसभन्दा स्कुल छुट्नु नराम्रो


    भदौं ९ गते : बालबालिकाहरुका लागि कोरोना भाइरसभन्दा स्कुल छुटाउँदा दीर्घकालीन असर पर्ने बेलायतका प्रमुख स्वास्थ्य सल्लाहकार प्रोफेसर क्रिस विटीले बताएका छन् । अहिले बेलायत, वेल्स र नर्दन आयरल्यान्डका लाखौँ बालबालिकाहरु आगामी हप्तादेखि स्कुल जाने तयारी गरिरहेका छन् ।

    प्रोफेसर विटीले भनेका हुन्, “कोभिड–१९ का कारण बालबालिकाको मृत्यु हुने सम्भावना अत्यन्तै कम छ तर स्कुल अनि पढाइ लामो समयसम्म छुटाउनुले बालबालिकाको विकास र भविष्यमा दीर्घकालीन क्षति पुर्याउन सक्छ ।” यसका साथै प्रोफेसर विटीले कोरोना भाइरस अझै थप नौ महिनासम्म चुनौतिमय नै रहने हुँदा बालबालिकाहरुका लागि झन समस्या भइरहने बताएका हुन् ।

    यसअघि सरकारले बेलायतभर सबै समूहका विद्यार्थीलाई आगामी सेप्टेम्बरदेखि फुल–टाइम कक्षाका लागि तयार रहन भनेको छ । स्कटल्यान्डमा त स्कुलहरु खुलाइसकिएको छ । तर विज्ञहरुले बालबालिकाबाट संक्रमण फैलनु अत्यन्तै दुर्लभ बताइरहेपनि यसअघि जर्मनीको राजधानी बर्लिनमा स्कुल सुचारु गरिएको दुई हप्तामै सहरका ८२५ मध्ये ४१ विद्यालयमा भाइरसको संक्रमण रिपोर्ट गरिएको छ । यसबाट सबै उमेर समूह प्रभावित भएको बताइएको छ । बर्लिनका स्वास्थ्य अधिकारीहरुका अनुसार यी नयाँ संक्रमणका कारण सयौँका सङ्ख्यामा विद्यार्थीसहित शिक्षक र अन्य सबै कर्मचारीहरु पनि क्वारेन्टिनमा बस्नुपर्ने भएको हो ।

    त्यसैगरी अमेरिका र इजरायलमा पनि स्कुल खुलाइएपछि संक्रमणहरु फेला परेको छ । यता फ्रान्स आगामी हप्तादेखि नै स्कुलहरु सञ्चालन गर्ने योजना बनाइरहेको छ तर त्यहाँ भने ११ वर्षभन्दा माथिका सम्पूर्णले हरेक समय अनिवार्य मास्क लगाइरहनुपर्ने निर्देशन जारी गरिएको छ ।

    हालसम्मका अध्ययनहरुले भने स्कुलबाट संक्रमण फैलने सम्भावना ०.०१ प्रतिशत रहेको देखाएको छ । जस्तै कि जुनमा केही उमेर समूहका लागि खुलाइएका स्कुलहरुमा देशभरबाट कूलगरी ७० बालबालिका र १२८ स्टाफहरु संक्रमित भएका थिए जसबेला बेलायतमा संक्रमण सङ्ख्या २५ हजार माथि थियो । ‘लन्डन स्कुल अफ हाइजिनले सेन्ट जर्ज युनिभर्सिटी’ सँगको सहकार्यमा गरेको रिसर्चमा पनि बालबालिकाहरुले स्कुलमा भन्दा घरमा संक्रमित हुने जोखिम बढी रहेको देखाएका थियो । भाइरस सामुदायिक रुपमा फैलिसकेको क्षेत्रमा मात्र, स्कुलबाट भाइरस फैलने खतरा हुने गरेको बताइएको छ ।

    यसमा सबैभन्दा पहिले त अभिभावक र विद्यार्थी दुवैले स्कुल पुनः खुलाउनुको जोखिमबारे राम्ररी बुझ्नुपर्ने स्वास्थ्यविद्हरुले बताएका छन् । किनकी बच्चाहरुमाझ भाइरस फैलिएमा यसले समाजका अन्य संवेदनशील समुहलाई संक्रमण गराउने जोखिम हुन्छ यसकारण पनि आगामी ९ महिनासम्म यो अवस्थाबाट बच्ने विषय अत्यन्तै चुनौतिमय हुने बताइएको छ ।

    यिनै कारण डब्लूएचओले यसअघि बालबालिकाहरुले मास्क लगाउने सम्बन्धी उमेर समूह हेरेर मापदण्डहरु पनि सार्वजानिक गरेको हो जसमा १२ वर्ष माथिकाले वयश्कहरु जत्तिकै सावधानी अपनाउन जरुरी रहेको उल्लेख गरिएको छ भने उनीहरुका लागि पनि मास्क अनिवार्य गर्न सुझाव दिएको छ । त्यस्तै ६ देखि ११ वर्ष समूहमा चाहिँ ठाउँ र संक्रमण दर हेरेर मास्क लगाइदिन भनिएको छ । जस्तै वृद्धहरुको नजिक पर्दा उनीहरुले मास्क लगाएकै सुरक्षित हुनेछ । पाँचवर्ष वा सोभन्दा मुनिका बालबालिकाले सामान्य अवस्थामा मास्क लगाउनु नपर्ने डब्लूएचओले जनाएको छ । यसरी अहिले विश्वभरि नै स्कुल खुलाउने विषयमा विभिन्न विवाद चलिरहेको छ र कर्मचारी अनि विद्यार्थीलाई पूर्ण रुपमा सुरक्षित राखि पढाइ पुनःसञ्चालन गराउने नीतिको खोजी जारी छ । बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस