• The Public Today
  • त्रिविको स्थगित परीक्षा असोजभित्रै : भर्चुअल विधिबाट लिने तयारी


    काठमाडौं, भदौ १० गते । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।

    विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।

    त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए। खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ ।

    व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।

    अहिलेकै अवस्थामा विद्यार्थीको लिखित परीक्षा गर्न नसकिने निष्कर्षमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् । व्यवस्थापन सङ्कायका डिन शर्माले लिखित सम्भव नभएको अवस्थामा विद्यार्थीको व्यक्तिगत उपस्थिति या भर्चुअल विधिबाट परीक्षा गरी निकास निकालिने जानकारी दिए । यसमा निर्णय लिन विश्वविद्यालय तथा डिन कार्यालय स्वतन्त्र रहेको जनाइएको छ । परीक्षा लिन बाँकी विषयका हकमा भर्चुअल विधिबाट परीक्षा लिन विश्वविद्यालयका पदाधिकारीलाई सुझाव प्राप्त भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस