असमका पूर्व मुख्यमन्‍त्री गोगोईलाई कोरोना संक्रमण

एजेन्सी, भदौं १० गते । भारतको असमका पूर्व मुख्यमन्‍त्री तथा कांग्रेसका वरिष्ठ नेता तरुण गोगोईमा कोरोना संक्रमण देखिएको छ । उनले ट्‌विटमाफत यसबारे जानकारी गराएका हुन् ।

८५ वर्षीय गोगोईले ट्‍‌विटमा भनेका छन्, “हिजो गरिएको जाँचमा मलाई कोभिड-१९ पोजेटिभ आएको छ । पछिल्ला केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरुले पनि तत्काल कोभिडको जाँच गराइहाल्न आवश्यक छ ।”

सन् २०२१ मा हुने असम विधानसभाको चुनावका लागि आफ्नो पार्टीको आधार बलियो बनाउने उद्देश्यले तरुण गोगोई पछिल्ला केही दिनदेखि विभिन्‍न स्थानको यात्रा गरिरहेका थिए । पूर्वमुख्यमन्‍त्री गोगोईको कोभिड परीक्षणको रिपोर्ट मंगलबार मात्र आएको बीबीसीले समाचारमा जनाएको छ ।

हालसम्म असममा कोरोना संक्रमितको संख्या ९४ हजार ५ सय ९२ पुगेको छ । यस प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २६० पुगेको छ । अहिलेसम्म ७३ हजार ९० कोरोना संक्रमित निको भइसकेका छन् ।