जनकपुरमा कोरोना पुष्टि भएका दुईसय जना सम्पर्कबिहीन भएको खुलासा

जनकपुरधाम, भदौं ११ गते । प्रदेश २ का दुइ सय जना कोरोना संक्रमित सम्पर्कबिहीन बनेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गराएकामध्ये दुई सय जना संक्रमित स्थानीय प्रशासनको सम्पर्कमै नरहेको खुलासा भएको छ। पीसीआर परीक्षणका बेला लेखाएको ठेगाना र सम्पर्क नम्बरमा उनीहरू फेला नपरेको स्थानीय प्रशासनले बताएको छ।

संक्रमितहरू लुकिछिपी बस्ने प्रवृत्ति देखिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।

‘स्वाब संकलन गर्दा कसैले गलत नम्बर दिएका हुन्छन् भने कसैले ठेगानै उल्लेख गर्दैनन्। यस्तो प्रवृत्तिले गर्दा पीसीआर पोजिटिभ आयो भने संक्रमित खोज्न गाहे भएको छ’, झाले भने, ‘स्वाब संकलन गर्न जाने क्रममा पनि गलत ठेगानाका कारण बिरामीलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्न झमेला भएको छ।’

संक्रमित भएर पनि लुकीछिपी बसेकाहरूको खोजी गर्नुपर्ने बाध्यता रहेकोे धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतको भनाइ छ। संक्रमित भएर परिवार समाजमा बस्दा महामारी अझ फैलिने जोखिम भएको हुँदा त्यस्ता व्यक्तिलाई सम्पर्क गर्ने प्रयास भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। -टुडेपाटी