• The Public Today
  • पहिरो पीडितहरूलाई राप्रपाद्वारा राहत वितरण


    भदौ ११ गते :  राष्ट्रिय प्रजातन्त्र पार्टी  राप्रपा ले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई बिहीबार राहत वितरण गरेको  छ ।

    जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार बाह्र हजार रूपैयाँ उपलब्ध गराइएको छ । सो अवसरमा पुर्ण रूपमा घरबार क्षति भएका १८ परिवारलाई जनही ६ हजार रूपैयाँ र विस्थापित १२७ घरधुरीलाई प्रति परिवार दुई हजार रूपैयाँको दरले राहत उपलब्ध गराइयो ।

    समारोहमा कूल पाँच लाख छ हजार रूपैयाँ हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा जारी सन्देशमा, राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबराले वाढी पहिरोबाट ठुलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै स्थानीय जनताको पिरमर्कामा सदा साथ रहने बताए ।

    राप्रपाका अध्यक्ष, जिल्लाका विभिन्न तहमा क्रियाशील नेताहरूको अग्रसरता र सहयोगमा लिदीका पहिरो पीडितहरूलाई राहत रकम उपलब्ध गराइएको हो ।

    राप्रपाका केन्द्रीय सदस्यहरू रमेश लामा र उदय सापकोटा, राप्रपा निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला सदस्य नारायण पाण्डे, क्षेत्रीय अध्यक्ष शिव भण्डारीलगायत जिल्ला र क्षेत्रका पदाधिकारीहरूको उपस्थितिमा राहत वितरण गरिएको थियो ।

    अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । रातोपाटी


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस