• The Public Today
  • धनुषाका सिडियोले किन देख्दैनन् जनकपुरको भिड ?


    जनकपुरधाम, भदौ १२ गते :  जनकपुरमा पैदलयात्रीसँगै सडकमा मोटरसाइकल र ई रिक्साको लर्को छ । सडकको दुबै छेउतिरर फलफूल र तरकारीको ठेला । ग्राहक तान्न व्यापारीबीच प्रतिस्पर्धा चलिरहेको छ ।

    ग्राहकको भीड पनि उत्तिकै छ । तर, यी भीडमा मास्क लगाउने बिरलै देखिन्छन् । लगाउनेहरू केहीले नाकको टुप्पो छोप्नुपर्ने मास्क पनि चिउँडोमुनि पुर्‍याएका छन् ।

    प्रहरीको भ्यान देख्दा उनीहरूमध्ये केही सर्तक भएकोजस्तो हाउभाउ देखाउँछन् । र, प्रहरी हिँडिसकेपछि फेरि सबैको उस्तै सुरताल ।

    औषधि पसलसँगै कपडा, किराना र फेन्सी पसलका सटरसमेत खुलेकै छन् । रामानन्द चोक, पिडारी चोकलगायतका स्थानमा होटेलसमेत खुलेकै छ । हल्का मात्र सटर उठाएर खोलिएको होटेलभित्र खाना र खाजा खानेको भीड पनि उस्तै छ । यस्तै दृष्य देखिन्छ जनकपुरमा जहाँ गत २९ साउनदेखि नै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

    निषेधाज्ञा अवधिभर औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, सञ्चार सेवा, बैंकिङ्ग सेवा, खानेपानी, इन्धन, विद्युत सेवालगायतका बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक रहेको भनिएको छ ।

    तर, स्थानीय प्रशासनले तोकेका बाहेक सवारी साधन निर्वाध रूपमा हिँडिरहे पनि कसैले रोकतोक गरेको छैन । कोरोना भाइरस संक्रमित र मृतकको संख्या दिनहुँ बढिरहे पनि संक्रमण नियन्त्रणकै लागि जारी गरिएको निषेधाज्ञाको प्रभाव प्रदेश २ मा एकदमै न्यून छ ।

    संक्रमणको उच्च जोखिम रहे पनि स्थानीयले बेवास्ता गरिरहेका छन् । निषेधाज्ञाको अवज्ञा गर्नेमाथि स्थानीय प्रहरी–प्रशासनसमेत मूकदर्शक देखिन्छ ।
    प्रदेशको अस्थायी राजधानी जनकपुरमा मध्याह्न १२ बजेसम्म किनमेलका लागि निषेधाज्ञा खुकुलो पारिएको छ । उक्त समयमा हटिया, बजार, बैंक तथा वित्तीय संस्थामा भीड त लाग्छ नै, तर त्यसपछि पनि सहरी क्षेत्रमा चहलपहल घटेको देखिँदैन ।

    यहाँको मुख्य बजार क्षेत्रमा प्रहरी परिचालित छ । तर सर्वसाधारण निस्फिक्री टहलिरहेका हुन्छन् । प्रहरीले पनि सामान्य सोधपुछ गरेर मात्रै छोडिदिँदा यहाँ निषेधाज्ञा उल्लंघन गरेर पैदल तथा साइकल, मोटरसाइकल र गाडीमा हुइँकिनेहरूको संख्या बढ्दो छ । सुरक्षाकर्मी नै संक्रमित हुन थालेपछि निषेधाज्ञामा पनि खासै कडाइ गरिएको छैन ।

    ‘यहाँ सबथोक खुलेकै छ । बजारमा भीडभाड देखिएकै छ । यहाँ त प्रशासन नै चाहन्छन् कि कोरोना फैलियोस् नभए यो के गर्न खोजिएको हो रु प्रशासनले कि त कडाइकासाथ निषेधाज्ञा पालना गराउनुपर्‍यो कि त नाममात्रको निषेधाज्ञा हटाउनपर्‍यो,’ स्थानीय विनोद मण्डलले भने ।

    जनकपुर लगायतका अधिकांश स्थानमा समुदायस्तरमा कोरोना संक्रमण फैलिसकेको भन्दै औषधि व्यवसायी प्रमोद यादवले स्थानीय सरकारले कडाइकासाथ निषेधाज्ञा पालना नगराए भयावह अवस्था आउने दाबी गरे ।

    तर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनकपुर लगायतका क्षेत्रमा भइरहेको भिडभाडबारे बेखबर छन् । नामकैलागि मात्र निषेधाज्ञा लगाइएको प्रश्नमा उनले गैरजिम्मेवार जवाफ दिए । निषेधाज्ञा कडाइकासाथ पालना गराउन प्रहरीलाई निर्देशन दिइसकेको उनले बताए ।

    तर निषेधाज्ञाको वास्तविक्ता अनुगमन उनले गरेका छैनन् । ‘हामीले प्रहरी परिचालन गराइसकेका छौँ । कहाँ भीडभाड छ ? मलाई थाहा भएन । मलाई भन्नुस् म प्रहरी पठाइदिन्छु,’ उनले भने । टुडेपाटी


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस