• The Public Today
  • क्यान्सर उपचारका लागि सञ्‍जयलाई पाँचवर्षे भिसा


    एजेन्सी, भदौ १२ गते । केही साताअघि मात्रै फोक्सोको क्यान्सर पत्ता लागेका अभिनेता सञ्‍जय दत्त आगामी चरणको उपचारका लागि अमेरिका जाने तयारीमा छन् ।

    यही सन्दर्भमा सञ्‍जयलाई पाँचवर्षे अमेरिकी भिसा प्रदान गरिएको छ । उनको प्रारम्भिक उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा भइरहेको छ ।

    श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई दुई दिनसम्म लीलावती अस्पताल भर्ना गराइएको थियो । कोरोना संक्रमणका कारण समस्या उत्पन्‍न भएको आशंकामा परीक्षण पनि गरियो । तर उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि थप परीक्षणमा उनमा क्यान्सर भएको पत्ता लागेको हो ।

    अहिले महामारी फैलिएका कारण भारतमै उपचार गराउने र स्थिति सामान्य भएसँगै अमेरिकाका लागि उड्ने दत्त परिवारको योजना भएको उनकी पत्‍नी मान्यताले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । उनी फोक्सोको क्यान्सरको तेस्रो चरणमा भएको पनि भारतीय मिडियाले जनाएका छन् ।

    सञ्‍जयको पछिल्लो चलचित्र ‘सडक २’ अनलाइन रिलिजको तयारीमा छ । उनको अर्को चलचित्र ‘केजीएफ २’ छायांकनमै छ । केजीएफ २ मा सञ्‍जयको विशेष भूमिका भएका कारण पनि त्यसको छायांकनपछि मात्रै उनी उपचारका लागि अमेरिका जाने तयारी छ ।


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस