• The Public Today
  • महोत्तरी प्रशासनले बेवास्था गर्दा शव चार दिनपछि उठ्यो


    किशोर बुढाथोकी
    विराटनगर, भदौ १३ गते : कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका एक संक्रमित पुरुषको शव विराटनगरको न्युरो अस्पतालबाट चार दिनपछि उठाइएको छ। महोत्तरी घर भएका ६१ वर्षीय वृद्ध पुरुषको न्युरो अस्पतालमा गत मंगलबार राति ११ बजे मृत्यु भएको थियो। परिवारका सदस्य र आफन्त सम्पर्कमा नआएपछि तथा महोत्तरी प्रशासनले बेवास्था गर्दा उठ्न नसकेको शव अस्पतालमै अलपत्र परेको थियो।

    शव व्यवस्थापनको जिम्मेवारी स्थानीय प्रशासनको हो। तर यस घटनामा महोत्तरी प्रशासनले चासो नदिएपछि चार दिनसम्म संक्रमितको शव अस्पतालमै रहनु पर्ने अवस्था आएको अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जीतराज बस्नेतले बताए। उनका अनुसार बिरामी अवस्थामा भर्ना गरिएका मृतककको कुरुवाका रुपमा छोरा अस्पताल आएका थिए। तर मृत्युपछि छोरा पनि सम्पर्कविहीन बनेको उनको भनाइ छ। त्यसपछि मृतक पुरुषको शव अस्पतालले शव गृहमा लगेर राखेको थियो।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको पहलमा शव एम्बुलेन्समा राखेर शनिबार महोत्तरी पठाइएको छ। महोत्तरीबाट लिनलाई कोही पनि नआएपछि विराटनगरबाटै एम्बुलेन्स खोजेर प्रजिअ निरौलाले शव पठाउने व्यवस्था मिलाइदिएका हुन्। चालक एक जना मात्रै रहेको एम्बुलेन्समा शव न्युरो अस्पतालकै कोभिड–१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स टिमका सदस्यले राखिदिएका थिए।

    ‘केही दिनदेखि अस्पतालबाट नउठेको शव लैजान महोत्तरी प्रशासनसँग पनि बारम्बार समन्वय गरियो। व्यापक खोजी गरिए पनि मृतकका परिवारका सदस्य तथा आफन्त भेट्न सकिएन र उनीहरु पनि सम्पर्कमा आएनन्’, प्रजिअ निरौलाले भने, ‘त्यही भएर मोरङ प्रशासनकै पहलमा एम्बुलेन्समा राखेर अस्पतालमा अलपत्र परेको संक्रमितको शव व्यवस्थापन गर्नलाई पठाइएको हो। त्यसको सबै खर्च हामीले नै बेहोर्‍यौं।’

    डाइरेन्टर बस्नेतले वृद्धको उपचारका क्रममा लागेको कुनै पनि खर्च अस्पतालले नलिएको बताए। उपचार गराउँदा लागेको दुई लाख २५ हजार अस्पतालतर्फ र फार्मेसीतर्फको ७० हजार रुपैयाँ छुट गरेर शव व्यवस्थापनका लागि पठाइएको जानकारी दिए। टाउकाको नसा सुकेर प्यारालाईसिस भएसँगै हातखुट्टा एवं शरीर चलाउन नसक्ने अवस्थाका पुरुषलाई उपचारका लागि अस्पतालमा गत साउन ३१ गते भर्ना गरिएको थियो।

    कोरोनाको आंशकामा उनको भदौ ३ गते स्वाब संकलन गरेर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको अस्पतालको कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीका संयोजकसमेत रहेका बस्नेतले बताए। उनका अनुसार रिपोर्ट पोजिटिभ आएपछि पुरुषलाई संक्रमितको उपचारका लागि अस्पतालले तयार गरेको आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राख्दै उपचार थालिए पनि बचाउन नसकिएको हो।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस