भारतका गृहमन्त्री शाह अस्पतालबाट डिस्चार्ज

File Photo

एजेन्सी : भारतका केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार एम्सबाट डिस्चार्ज भएका छन् । ५५ वर्षका शाहलाई १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो । उनलाई शरीर दुख्ने, थकान र रिंगटा लाग्ने भएको थियो ।

गृहमन्त्रीलाई अगस्ट २ मा कोरोनाको संक्रमण देखिएको थियो । उनको कोरोनाको उपचार मेदान्त अस्पतालमा भएको थियो भने १४ अगस्टमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी मेन्दान्तबाट डिस्चार्ज भएर एम्समा भर्ना भएका थिए ।

भारतमा कोरोना संक्रमितको संख्या बढेर ३६ लाख १९ हजार १ सय ६९ पुगेको  छ । पछिल्लो २४ घण्टामा यहाँ हालसम्मको सर्वाधिक संक्रमित भेटिएका छन् जुन ७९ हजार ४ सय ५७ रहेको छ । यसअघि शनिबार सबैभन्दा धेरै ७८ हजार ७ सय ७९ संक्रमित भेटिएका थिए । यस्तै ९६० को ज्यान गएको छ ।