• The Public Today
  • वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु


    • सुरेश बिडारी

    वीरगञ्ज, भदौ १६ गते । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२:४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

    टाईप टु मधुमेह र मिर्गौलाको समस्याबाट ग्रसित उनको साउन ३० गते स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । साउनयता मात्रै ४८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये पर्साका ३८ जना, बाराका १० जना र रौतहटका ४ जना छन् ।

    जेठ ३० गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस