• The Public Today
  • सिरहामा मोटरसाईकल दुर्घटनामा दुईको मृत्यु


    द पब्लिक टुडे
    बर्दिवास, भदौं १८ गते । सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

    सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर घाईते पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारको लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । सोही दुर्घटनामा परी सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ बर्षीय जितेन्द्र महरा भन्ने शिवकुमार महरा गम्भीर घाईते भएको र उनको भुमिजा अस्पताल लहानमा उपचार भई रहेको प्रहरी प्रवक्ता घिमिरेले बताए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस