• The Public Today
  • प्रदेश २ मा कोरोनाबाट ३० दिनमा ८० जनाको मृत्यु, ५७ सय संक्रमित


    जनकपुर,भदौ २४ गते : प्रदेश २ मा पछिल्लो एक महिनामा ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    साउन २४ गतेसम्म करिब पाँच महिनामा २६ जनाको मृत्यु भएको यस प्रदेशमा पछिल्लो ३० दिनमा मात्रै ८० जनाको मृत्यु भएको हो । यसले पछिल्लो समय प्रदेशमा मृत्यु दर अत्यधिक बढेको बुझिन्छ ।

    साउन २४ गते मृतकको संख्या एकजना रहेको धनुषामा भदौ २३ गते १२ जना पुगेको छ । पर्सामा १७ जनाबाट बढेर मृतकको संख्या ३९ पुगेको छ । बारामा दुई जनाबाट मृतकको संख्या बढेर १६ जना पुगेको छ । सिरहामा एक जनाबाट मृतकको संख्या १० पुगेको छ । महोत्तरीमा एकबाट मृतकको संख्या ११ पुगेको छ भने २४ साउनसम्म मृतकको संख्या शून्य रहेको सर्लाहीमा यो अवधिमा चारजनाको मृत्यु भएको छ ।

    प्रदेश २ को पश्चिमी जिल्ला पर्सामा पहिलोपटक चैत २९ गते एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएको थियो । अहिले पर्सामा मात्रै ३९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या दुई हजार तीन सय ७६ पुगेको छ ।

    नौ सय ८२ जना संक्रमित भएको बारामा १६ जनाको मृत्यु भइसकेको छ । रौतहटमा एक हजार सात सय १६ जना संक्रमित भएका छन् । तीमध्ये पाँचजनाको मृत्यु भएको छ । १६ सय ८३ जना संक्रमित रहेको सर्लाहीमा चारजनाको मृत्यु भएको छ । एक हजार तीन सय ८० जना संक्रमित भएको महोत्तरीमा मृतकको संख्या ११ पुगेको छ ।

    १८ सय १३ जना संक्रमित रहेको धनुषामा १२ जनाको मृत्यु भएको छ । चार सय ९७ जना संक्रमित भएको सिरहामा १० जनाले ज्यान गुमाएका छन् भने नौ सय १६ जना संक्रमित भएको सप्तरीमा आठजनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्‍टि गरेको छ ।

    प्रदेशमा कुल संक्रमितको संख्या ११ हजार तीन सय ७० पुगेको छ । तीमध्ये एक सय ६ जनाको मृत्यु भएको छ भने पाँच हजार आठ सय ८३ जना कोरोनामुक्त भएको मन्त्रालयले पुष्‍टि गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस