• The Public Today
  • अफगानिस्तानका उपराष्ट्रपतिमाथि बम हमला, १० जना मारिए


    काठमाडौ, भदौ २४ गते  :  अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरी बुधबार बिहान काबुलमा बम हमला भएको छ । घटनामा उनी सुरक्षित रहेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

    विस्फोटमा परेर हालसम्म १० जना सर्वसाधरणको मृत्यु भएको छ भने १५ जना घाइते रहेको गृहमन्त्रालयले जनाएको छ ।
    सहरी क्षेत्रमा कुनै कारवाही नगर्ने अमेरिकासँग सहमति गरेको तालिवानले घटनामा आफू जिम्मेवार नभएको बताएको छ ।

    विस्फोटपछि फेसबुकमा भिडियो पोष्ट गर्दै देब्रे हातमा पट्टी बाँधेका सालेहले कार्यालय जाने क्रममा आफ्नो कारकेडमाथि आक्रमण भएको जानकारी दिएका थिए ।

    ‘म ठीकै छु तर मेरा सुरक्षाकर्मी घाइते भएका छन् । मसँग मेरो छोरा पनि कारमा थियो, उनी पनि सुरक्षित छन् । मेरो हात र अनुहार केही जलेको छ । निकै शक्तिशाली विस्फोट थियो,’ उनले भने ।

    तालिबानका प्रखर आलोचक रहेका पूर्वगुप्तचर प्रमुख सालेहमाथि धेरैपटक प्राणघातक आक्रमण भएका छन् । गत वर्ष राष्ट्रपतीय निर्वाचनअघि उनको कार्यालयमा भएको विस्फोटमा २० जना मारिएका थिए । उनले भने प्रत्येक पटक बच्दै आइरहेका छन् । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस