मदन भण्डारी फाउण्डेशनको महोत्तरी अध्यक्षमा वरिष्ठ पत्रकार बराल

बर्दिवास, भदौ २८ गते । महोत्तरीका वरिष्ठ पत्रकार तथा सञ्चारकर्मी गोपाल बरालले मदन भण्डारी फाउण्डेशनको जिल्ला नेतृत्वको जिम्मेवारी पाएका छन् । शनिबार महोत्तरीको बर्दिवास–४ माइस्थानमा सम्पन्न फाउण्डेशनको बृहत जिल्ला भेलाले बराललाई सर्वसम्मत जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो ।

बराल नेतृत्वको समितिमा इसरागन कुमारी यादब, उमेश चौधरी, एम्तियाज अहमद र डोमा शाही बिष्ट क्रमशः उपाध्यक्ष, सचिब , सहसचिब र कोषाध्यक्ष चयन भएका छन् ।
जिल्लामा गठित ५५ सदस्यीय समितिको १५ सदस्यीय सचिवालयमा चन्द्रभूषण मौवार, चन्द्रबहादुर थापा, जितेन्द्रकुमार चौधरी, कुमार भण्डारी, राजकिशोर यादब (भङ्गाहा) र रामनरेश महतो छन् । त्यसैगरि सचिवालयका अन्य सदस्यमा राजकिशोर यादब (बलवा), अजय कुशवाहा, दिपेन्द्रकुमार यादब र सञ्जिवकुमार यादब चयन भएका समितिका नवनिर्वाचित सचिब उमेश चौधरीले जानकारी दिएका हुन् ।

समितिका पदाधिकारी तथा सदस्यहरुलाई फाउण्डेशनका केन्द्रीय सदस्य सरोज यादबले सपथ दिलाएका छन् । फाउण्डेशनका प्रदेश–२ समितिका सदस्य गुञ्ज खड्काको अध्यक्षतामा सम्पन्न भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महोत्तरी सचिब शौखीलाल यादबको पनि उपस्थिति थियो ।

जिल्लाको बामप्रजातान्त्रिक आन्दोलनमा किशोरावस्थादेखि नै सकृय रहेका बराल तत्कालीन नेकपा (एमाले) को जनवर्गीय सङ्गठन सुवा सङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका ब्यक्ति हुन् । बिक्रम सम्वत् २०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला बिकास समिति महोत्तरीको सदस्य निर्वाचित भएका बराल २०५९ देखि सकृय पत्रकारितामा संलग्न छन् ।

कम्युनिष्ट आन्दोलनमा किशोरावस्थादेखि सिङ्गो जवानी बिताएका बराल पार्टीभित्रको आन्तरिक गुटबन्दीमा नदेखिने ब्यक्ति हुन् । यद्यपि अहिले फाउण्डेशनको अध्यक्षको जिम्मेवारी लिएपछि उनीपनि गुटगत राजनीतिमा पसेका उनलाई चिन्नेहरुले टिप्पणी गरेका छन् । यद्यपि बरालभने फाउण्डेशनका वैचारिक, साहित्यिक, साँस्कृतिक, शैक्षिक र खेलजगतसहितका क्षेत्रमा सङ्गठित योगदान पु¥याउन नयाँ जिम्मेवारी स्वीकार गरेको बताउँछन् । स्मरण रहोस, मदन भण्डारी फाउण्डेशन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री निकटको सामाजिक संस्थाका रुपमा चिनिन्छ ।