• The Public Today
  • २० वटा पेट्रोल पम्प बनाउँदै निगम


    काठमाडौं, भदौ २८ गते । नेपाल आयल निगमले पूर्व(पश्चिम र हुलाकी राजमार्गमा सुविधासम्पन्न ‘सेमी नमूना’ पेट्रोल पम्प बनाइने भएको छ ।
    निगमले कार्डबाटै नगद भुक्तानी गर्नेदेखि सुविधा सम्पन्न पार्किङ, उच्च गुणस्तरको अग्नि सुरक्षा प्रविधि र खाजा घरसहितको २० वटा पम्प खोल्ने प्रक्रिया अघि बढाइएको छ ।

    यसअघि भैरहवामा निर्माण गरेर निगमले सञ्चालनमा ल्याएको प्रकृतिकै थप २० वटा पम्प खोल्न लागिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । पम्प स्थापनाबारे थप अध्ययन गर्न निगमकै आपूर्ति तथा वितरण विभाग उपनिर्देशकको संयोजकत्वमा समिति पनि गठन गरिएको छ ।

    एउटा पम्प निर्माण गर्न झण्डै १० कठ्ठा जग्गा आवश्याक हुने र जग्गाको लागतबाहेक ५ करोड रुपैयाँ हाराहारी खर्च हुने निगमको प्रारम्भिक अनुमान छ ।

    उच्चतम् प्रविधियुक्त यस्ता पम्पको मौज्दात लगायतको गतिविधि निगमको प्रादेशिक कार्यालय र केन्द्रीय कार्यालयबाट समेत हेर्न मिल्ने किसिमको हुने निगमले जनाएको छ ।

    निगमले सञ्चालन गर्ने यस्ता पम्पहरु २४ सै घण्टा सञ्चालन हुनेछन् । सोलारबाट वैकल्पिक विद्युतीय सुविधा हुने यस्तो पम्पमा आगो नलाग्ने संरचना बनाइने निगमले जनाएको छ ।

    पम्प स्थापना गर्ने जग्गा उपलब्ध गराइदिन निगमले प्रदेश र स्थानीय सरकारलाई पत्राचार गरिसकेको छ । सकेसम्म सरकारी वा कुनै सरकारी संस्थाको जमिनमा नै पम्प बनाउने गरी प्रक्रिया थालिएको प्रवक्ता उपाध्यायले बताए ।

    प्रदेश र स्थानीय तहले जग्गा उपलब्ध गराउन नसकेमात्रै जग्गा प्राप्ति प्रक्रियामा निगम जाने उनको भनाइ छ । निजी क्षेत्रको व्यापार खोस्न नभई सुविधा सम्पन्न पम्प कस्तो हुन्छ भन्ने देखाउनका लागि निगमले आफ्नै पम्प सञ्चालन गर्न लागेको दावी गरेको छ ।

    पम्प बनाउने स्थान र जग्गाकै टुंगो लागिनसकेका कारण आयोजना कहिले सम्पन्न हुन्छ भन्ने यकिन गर्न नसकिने निगमले जनाएको छ ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस