• The Public Today
  • राष्ट्रिय झण्डा जलाएको आरोपमा पक्राउ परेका गायक पुर्पक्षका लागि थुनामा


    काठमाडौं, भदौ २९ गते : म्युजिक भिडियोमाा राष्ट्रिय झण्डा जलाएको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले सोमबार तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सोही आरोपमा मुछिएका ३ जना भने १५ हजार धरौटीमा छुटेका छन् । ५ जना साधारण तारिखमा छुटेका जिल्ला अदालत काठमाडौंले जनाएको छ । उनीहरुविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

    विष्णु आधारभूत विद्यालय मकवानपुरमा छायांकन गरिएको भिडियो ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । भिडियोमा क्षेत्री, बाहुन समुदायलाई अश्लिल गाली गरिएको थियो ।

    र्‍यापको शिर्षक ‘देशद्रोही’ राखिएको थियाे । गीत युट्युबमा सार्वजनिक भए लगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले कारबाहीका लागि प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

    मुलुकी अपराध संहिता, २०७४ अनुसार जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याएमा कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान छ ।

    राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गरेमा वा नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, जानीजानी अपमान गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस