भारतले दियो २००० भाइल रेमडेसिभिर

बर्दिवास, भदौ ३० गते : भारतले २००० भाइल रेमडेसिभिर नेपाललाई सहयोग प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन् ।

कोभिड-९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई सहयोग गर्ने क्रममा यो औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ ।

यो औषधि अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिन्छ । चिकित्सा अध्ययनका अनुसार यो औषधिको प्रयोगले बिरामीहरुको अस्पताल बसाइ अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीयरुपमा सघाउ पुर्‍याउँछ ।

यसअघि भारतले वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनलगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड-१९ टेष्ट किट (आरटी-सीआर) र साउन २५ गते आईसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।