• The Public Today
  • ‘प्राधिकरणको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छान्ने’


    द पब्लिक टुडे
    बर्दिवास, भदौं ३० गते :
    नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशक छनोटका लागि सरकारले खुला प्रतिस्पर्धा गराउने भएको छ।

    चार वर्षे कार्यकाल पूरा भएर कुलमान घिसिङ मंगलबार विदा भएपछि कानुनअनुसार नयाँ कार्यकारी निर्देशक छनोट खुला प्रतिस्पर्धाबाटै हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

    ‘लोकप्रियताको विषय एउटा होला। त्यो भावनात्मक विषय हो। तर, नियुक्तिको निश्चित कानुनी प्रक्रिया छ। त्यसैअनुसार विद्युत प्राधिकारणको नयाँ कार्यकारी निर्देशकको नियुक्ति हुने छ। कुलमानजी पनि पहिले त्यही प्रक्रियाबाट आउनु भएको हो,’ थापाले नेपालखबरसँग भने, ‘त्यही व्यवस्था अहिले कार्यान्वयन हुन्छ।’

    घिसिङले भने आफू खुला प्रतिस्पर्धामा नजाने जानकारी राजनीतिक नेतृत्वलाई गराइसकेका छन्। ‘चार वर्षअघि जुन कार्यसम्पादन गर्ने सम्झौता गरेर आउनु भएको थियो। त्यो पूरा भएको छ। मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा पनि उच्च अंक प्राप्त गुर्न भएको छ। कार्य सम्पादन क्षमता देखाइसकेको अवस्थामा फेरि प्रतिस्पर्धामा जान चाहनु भएको छैन,’ घिसिङनिकट एक कर्मचारीले भने, ‘उहाँकै नेतृत्वमा लोडसेडिङ मुक्त मात्रै होइन र विद्युत प्राधिकरण नाफामा पनि गयो।’

    ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा कुलमानले आर्थिक वर्ष २०७३-७४मा ८८ दशमलव १९, ०७४-७५मा ८७ दशमलव ९८, ०७५-७६ मा ८६ दशमलव ८२ र २०७६-७७ मा ८७ दशमलव ५५ प्रतिशत अंक प्राप्त गरेका थिए।

    २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। त्यसयता दुई सरकार परिवर्तन भएपनि कार्यकारी निर्देशक परिवर्तन भएको छैन। प्राधिकरणको कार्यकारी प्रमुख पदमा यस्तो अवसर दुर्लभ मानिन्छ।

    मंगलबार प्राधिकरणमा आयोजना गरेको विदाई कार्यक्रममा घिसिङले अत्यन्त नाजुक अवस्थामा रहेको प्राधिकरणको वित्तीय अवस्था आफ्नो कार्यकालमा सुधार गरेको बताएका थिए। घिसिङले प्राधिकरणको जिम्मेवारी सम्हाल्दा संचित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो। त्यसै वर्ष मात्रै ८ अर्ब ८९ करोड रुपैया नोक्सानी प्राधिकरणले ब्यहोरेको थियो।

    ‘कुनै वेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु पर्ने अवस्थामा पुगेको प्राधिकरण सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ’ घिसिङले भने।

    घिसिङले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरणले १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। ‘त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो’ उनले भने।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस