• The Public Today
  • जनकपुर–जयनगर रूटमा चल्ने रेल नेपाल आज आईपुग्ने


    द पब्लिक टुडे
    गौशाला, असोज २ गते ।
    बहु प्रतिक्षित जनकपुर–जयनगर रेल शुक्रवार नेपाल आइपुग्ने भएको छ । बिहीबार साँझ भारतको जयनगर आईपुगेको रेल शुक्रवार मध्यान्हसम्म नेपाल भित्रिने रेल विभागका माहानिर्देशक बलराम मिश्रले बताए ।

    माहानिर्देशक मिश्रका अनुसार शुक्रवार मध्यान्हसम्म आउने रेल जनकपुर स्टेसनमा रोकिने र भारतीय रेल निर्माता कम्पनीले नेपाललाई हस्तान्तरण गर्नेछ ।
    शुक्रबार एक समारोहबिच जनकपुरमा भारतको सरकारी कम्पन्नी कोंकन रेल्वेज कर्पोरेसन लिमिटेडले रेल विभागलाई रेल हस्तान्तरण गर्नेछ ।

    रेललाई स्वागतका लागि महाप्रबन्धक गुरु भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली समेत जनकपुर आइपुगेका छन् । कुर्था–जनकपुर–जयनगर रुटमा संचालन गर्न २ वटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण भारतको हाजीपुरमा रोकिएको थियो ।

    रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् ।

    यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।महानिर्देशक मिश्र रेल ल्याएर नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिने बताए । यो कम्पनीमा हाल गुरु भट्टराई महाप्रवन्धक रहेका छन् । मिश्रका अनुसार सबै तयारी समयमै पुरा भए एक महिनापछि रेल संचालनमा ल्याउन सकिने बताउँछन् । रेल कहिलेबाट चलाउने विषय अब कम्पनीको भएको उनले बताए ।

    सरकारले २०७५को पुसबाट जनकपुर–जयनगर रेल चलाउने घोषणा गरेको थियो । कुर्था–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो ।

    सन् २०१४ बाट लिक मर्मतको काम सुरुवात भएको थियो । यसैकारण नेपालको एक मात्रै रेललाइनका रुपमा रहेको जनकपुर–जयनगर रेल सेवा विगत ६ वर्षदेखि बन्द अवस्थामा छ ।
    ३५ किलोमिटरको रेलमार्गमा ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । यसमा स्टेसनहरु तयार नै छन् । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरु पनि बनाइदिएको विभागले जनाएको छ ।

    सरकारले रेल सेवा संचालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । यसअघि निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर रेल चलाउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारी भर्ति गरिँदैछ । विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्न सूचना पनि निकालेको थियो ।

    नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय थिएन । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद बैठकले स्वीकृति दिइसकेको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ । अप्राविधिक कर्मचारी नेपालमै भर्ती गरिँदैछ । कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गरिएको आजको द पब्लिक टुडेमा खबर छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस