• The Public Today
  • संविधान दिवस मनाउने समय आएको छैन : मुख्यमन्त्री राउत


    • श्रवण देव

    जनकपुरधाम, असोज ३ गते । आज संविधान दिवस देशभर मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बस्ने भएका छन् ।

    सरकारका कर्मचारीले केन्द्रीय सर्कुलरलाई मानेर राष्ट्रिय झण्डा फहराउने र दीपावली मनाउने भए पनि सरकारका प्रतिनिधि भने मौन बस्ने भएका छन् । दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद् बैठकले कुनै कार्यक्रम पनि तय गरेको छैन ।

    प्रदेश सरकारका मुख्य सचिव अर्जुन प्रसाद पोखरेलले यसपटक मन्त्रिपरिषदको निर्णयले कुनै पनि कार्यक्रम निर्धारण नगरेको बताए । उनका अनुसार केन्द्रबाट घोषित कार्यक्रम अनुसार राष्ट्रिय झण्डा फहराइने र साँझ दीपावली गरिने छ ।

    मुख्यमन्त्री लालबाबु राउतले संविधान ‘सेलिब्रेसन’ गर्ने समय आइनपुगेको बताए । संविधान दिवस मनाउने सन्दर्भमा अनलाइनखबरले राखेको जिज्ञासामा मुख्यमन्त्री राउतले संक्षिप्तमा भने, ‘सेलिब्रेसन गर्ने समय नआएकाले प्रदेश सरकारले कुनै कार्यक्रम गर्दैन ।’

    संविधान दिवसको अवसर पारेर गत वर्ष असोज २ गते डेंगु रोगबारे जनचेतना फैलाउँदै जनकपुरधामको जिरोमाइल चोकदेखि बसपार्कसम्म सरसफाइ गरिएको थियो । असोज ३ गते बिहान प्रभातफेरी र ४ गते मधेश भवन परिसरभित्र सरसफाइ तथा वृक्षारोपण गरिएको थियो । यद्यपि यी कार्यक्रममा सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले सहभागिता जनाएका थिएनन् ।

    ती कार्यक्रम प्रदेश मन्त्रिपरिषद्को बैठकबाटै निर्धारण गरिएको थियो । तर यस पटक मन्त्रिपरिषद् बैठकले पनि कुनै कार्यक्रम निर्धारण गरेको छैन ।

    यो प्रदेशका सत्तासिन पार्टी जनता समाजवादी पार्टीका नेतृत्वले संविधान दिवसका दिन शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न नेता÷कार्यकर्तालाई आह्वान गरेका छन् । यो आह्वानपछि आज प्रदेश २ का आठ वटै जिल्लामा यो पार्टीका नेता/कार्यकर्ताहरुले बिरोध प्रदर्शन गर्ने भएका छन् । अनलाइनखबर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस