रुसले कोभिड–१९ को पहिलो औषधि फार्मेसीमा बिक्री गर्न स्वीकृति दियो

एजेन्सी । रुसले कोभिडबाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको हो ।

गत मे महिनामा पनि रुसले ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो जुन जापानमा निर्माण भएको हो र भाइरल उपचारका लागि अधिक प्रयोग हुने गरेको छ ।
यसरी आर–फर्माको यो घोषणाले भाइरस विरुद्धको उपचार सबैभन्दा पहिले ल्याउने दौडमा, अग्रस्थान हासिल गर्न, रुस वास्तवमै लगातार प्रयास गरिरहेको स्पष्ट पारेको छ । रुसले यसअघि नै कोभिड–१९ का परीक्षणहरु निर्यात गरिसकेको छ भने आफूले निर्माण गरेको ‘स्पट्निक–भी’ खोप आपूर्ति गर्ने सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरु पनि हात पारिसकेको छ ।

आर–फर्माले कोभिड–१९ का १६८ बिरामीलाई सहभागी गराइ यसअघि तेस्रो चरणको ट्रायल सञ्चालन गरेको थियो जसपछि नै आधिकारिक स्वीकृति पाएको बताएको छ । योभन्दा अगाडि सो औषधिलाई कोरोना भाइरसको उपचारका निम्ति अस्पतालमा प्रयोग गर्न अनुमति दिइएको सरकारी डाटाले देखाएको छ ।

कोरोनाभर औषधिको ट्रायल तुलनात्मक रुपमा धेरै सानो मानिएको छ । तरपनि आर–फर्माले यसको आपूर्ति सम्बन्धी देशभरका फार्मेसीहरुसँग छलफल थालिसकेको कम्पनीकी प्रवक्ताले बताएकी हुन् । कोरोनाभर मस्काउबाट ३०० किलोमिटरको दुरीमा रहेको उत्तरपूर्वी क्षेत्र यारोस्लाभीस्थित आर–फार्मको उद्योगमा निर्माण गरिएको हो ।

एभिफेभिर भने गत जुनदेखि नै अस्पतालहरुमा प्रयोग हुँदै आएको थियो तर फार्मेसीहरुमा यसको आपूर्ति गरिएको थिएन । एभिफेभिर र कोरोनाभर दुवै ‘फेभिपिराभीर’ नामक पदार्थमा आधारित औषधि हुन् । यो एन्टिभाइरल औषधिलाई २०१४ मा जापानले इन्फ्लुएन्जाका समयमा आपत्कालीन उपचारका लागि स्वीकृत गरेको थियो । र कोभिड–१९ विरुद्धको यसको प्रभावकारीता बारे अहिले विश्वभरि नै अध्ययन तथा परीक्षण भइरहेको छ । भारतमा पनि विभिन्न औषधि निर्माणकर्ताहरुले कोभिड–१९ विरुद्ध प्रयोगका लागि यसको उत्पादन गरिरहेका छन् । रोयटर्स