• The Public Today
  • आईपीएलमा राजस्थानको विजयी सुरुवात


    द पब्लिक टुडे
    गौशाला, असोज ७ गते :
    इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा मंगलवार राती भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले पराजित गरेको हो ।

    चेन्नईले जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र जोड्न सफल रहयो । राम्रो सुरुवात पाएपनि मध्यक्रममा राम्रो साझेदारी बन्न नसक्दा टोलीले हार बेहोर्नुपर्यो । राजस्थानले स्पिनरलाई आक्रमणमा ल्याएपछी सुरु भएको चेन्नईको विकेट पतन लगातार जारि रहेको थियो । फाफ डु प्लेसिसले एकतर्फ इनिङ सम्हालेपनि राम्रो साथ पाउन सकेनन् ।

    मुरली विजय र सेन वाटसनले पहिलो विकेटका लागि ६.४ ओभरमा ५६ रनको सझेदरी गरेका थिए । वाटसनलाई लेग स्पिनर टेवाटियाले बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । वाटसन्ले २१ बलमा १ चौका र ४ छक्कासहित ३३ रन जोडे । अर्को ओभरमा वीजय पनि २१ बलमा २१ रन जोड्दै श्रेयस गोपालको बलमा टम करनबाट समातिए ।

    ब्याटिङ क्रममा माथि आएका साम करनले ६ बलमा १ चौका र २ छक्कासहित १७ रन जोडेपनि उनी टेवाटियाको बलमा स्टम्पिङ आउट भए । लगत्तै अर्को बलमा पहिलो खेल खेलिरहेका रुतुराज गाइक्वाद पनि स्टम्पिङ हुन पुगे । १४ औं ओभरमा केदार जाधव २२ रनमा कट बिहाइन्ड भएपछि चेन्नई ११४-५ को अवस्थामा पुगेको थियो । जाधवले १६ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।

    डु प्लेसिसले आक्रामक ब्याटिङ गरेपनि अर्कोतर्फ साथ नपाउँदा १९ औं ओभरमा आउट भए । लामो सट खेल्ने धुनमा जोफ्रा आर्चरको बलमा कट बिहाइन्ड भए । उनले ३७ बलमा १ चौका र ७ छक्कासहित ७२ रन जोडे ।

    धोनीले १७ बलमा नटआउट २९ रन जोडेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । उनले १७ बलको सामना गर्दै ३ छक्का प्रहार गरे । रविन्द्र जडेजा १ रनमा नटआउट रहे । राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । आर्चर, गोपाल र करनले १-१ विकेट हात पारे ।

    त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनायो । राजस्थानलाई विशाल योगफलमा पुर्याउन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । युवा ब्याट्सम्यान सञ्जु स्यामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रनमा क्याच आउट हुन पुगे ।

    स्यामसनले मात्र १९ बलमा अर्ध शतक पूरा गरेका थिए । स्याम्सनलाई १२ औं ओभरको चौथो बलमा लुन्गी एनगिडीले दीपक चहरबाट क्याच आउट गराएपछि शतक बनाउन चुकेका थिए । त्यस्तै ओपनर तथा कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्का सहित ६९ रनमा क्याच आउट भए । स्मिथलाई १९ औं ओभरको दोस्रो बलमा साम करनले केदार जाधवबाट क्याच आउट गराए ।

    ओपनर यशस्वी जैसवाललाई दीपक चहरले तेस्रो ओभरको दोस्रो बलमा ६ रनमा कट एण्ड बोल्ड आउट गरे । त्यसपछि दोस्रो विकेटका लागि कप्तान स्मिथ र स्यामसनले १ सय २१ रनको उत्क्ृष्ट साझेदारी गर्दै विशाल योगफलमा पुर्याए । १२ औं ओभरको अन्तिम बलमा डेभिड मिलर शून्यमा रन आउट भए ।

    १५ औं ओभरको पहिलो बलमा रोबिन उथप्पालाई पियुष चवलाले फाफ डु प्लेसिसबाट ६ रनमा क्याच आउट भए । साम करनले राहुल तेवतिया १० र रियान पराग ६ रनमा आउट गरे । जोफ्रा आर्चर ८ बलमा ४ छक्का सहित २७ रनमा अविजित रहे । टम करन ९ बलमा १ चौका सहित १० रनमा अविजित रहे ।

    पियुष चवलाले ४ ओभरमा ५५ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ४ ओभरमा ४० रन खर्चिए । दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए ।

    चेन्नईले आफ्नो तेस्रो खेलमा शुक्रबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ । राजस्थानले आइतबार किंग्स इलेभेन पन्जाबसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्नेछन् । एजेन्सी


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस