कोरोना संक्रमणबाट भारतको रेल राज्यमन्त्री सुरेश चनाबसप्पाको निधन

एजेन्सी

असोज ८ गते : कोरोना भाइरस संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको निधन भएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स्) मा उपचारका क्रममा बुधबार साँझ ६५ वर्षीय अंगडीको निधन भएको हो ।

उनलाई ११ सेप्टेम्बरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने अंगडी पहिलो केन्द्रीय मन्त्री हुन् । अंगडी भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट कर्नाटकको बेलागावी निर्वाचन क्षेत्रबाट सन् २००४ देखि लगातार चार पटक निर्वाचित हुँदै आएका थिए ।

पछिल्लो पटक सन् २०१९ को लोकसभा चुनाव जितेपछि उनलाई नरेन्द्र मोदी सरकारमा रेल राज्यमन्त्री बनाइएको थियो । यसअघि कर्नाटककै अर्का सांसद अशोक गस्तीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । गस्ती पनि भाजपाबाटै राज्यसभामा चुनिएका थिए ।

यसबीच रेल राज्यमन्त्री अंगडीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । त्यसैगरी पूर्व प्रधानमन्त्री एचडी दैवगौडाले पनि मन्त्री अंगाडीको निधनमा शोक व्यक्त गरेका छन् । उनको निधनको शोकमा भारतको गृह मन्त्रालयले बिहीबार दिल्लीका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।