• The Public Today
  • भारतीय किसान आन्दोलनमा, देशभर चक्काजाम गरी प्रदर्शन गर्दै


    एजेन्सी
    असोज ९ गते : भारतको संसदको दुबै सदनबाट पारित कृषि विधेयकविरुद्ध शुक्रबार किसान संगठनले भारतभरी चक्काजामको आह्वान गरेका छन् । सरकारले यी विधेयकलाई किसानको हितैषी बताउँदै यसले किसानको आय बढ्ने र बजार उनको उत्पादनका लागि खुल्ने जानकारी दिएको छ ।

    यस्तै किसान संगठनले यो विधेयक कृषि क्षेत्रलाई व्यापारीको हातमा सुम्पिने कोसिसको हिस्सा भएको बताएको छ । यी विधेयकविरुद्ध सबैभन्दा व्यापक प्रदर्शन पंजाब र हरियाणामा भइरहेको छ ।

    पंजाबमा त बिहिबार नै रेल रोक भन्ने अभियान चलाइएको छ ।किसान संगठनका अनुसार शुक्रबार पूरा देशभरी यी विधेयकविरुद्ध प्रदर्शन हुनेछ ।

    भारतीय किसान युनियन (बिकेयू) ले उत्तर प्रदेशमा शुक्रबार चक्का जाम गर्ने तयारी गरिरहेको छ ।बिकेयूसँग सम्बन्धित किसान नेता धर्मेन्द्र सिंहले पश्चिमी उत्तर प्रदेशका सबै जिल्लामा शुक्रबार बिहान १० बजेदेखि बेलुका चार बजेसम्म चक्का जाम गरिने जानकारी दिए ।

    यस्तै किसान संगठनका संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले शुक्रबार देशभरी पूर्ण बन्द आह्वान गरेको छ ।यो समितिमा भारतका १२ किसान संगठन समावेश छन् र यी कुनै राजनीतिक दलसँग सम्बन्धित छैनन् । यूपी, मध्य प्रदेश, कर्नाटक, तमिनाडु, पंजाब र हरियाणामा यी संगठनको व्यापक उपस्थिती छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस