• The Public Today
  • भारतीय कलाकारको पैतृक घरलाई पाकिस्तानले संरक्षण गर्ने


    एजेन्सी

    असोज १३ गते : पाकिस्तानको पेशावरमा रहेका दीलिपकुमार र राज कपूरका पैतृक घरहरु संरक्षण गर्ने फैसला पाकिस्तान सरकारले गरेको छ । हिन्दी फिल्मका यी दुई चर्चित कलाकारको जन्म पाकिस्तानका यी हवेलीमै भएको थियो ।
    यद्यपि, अहिले यो खाली छ । पाकिस्तानको खाइबर पख्तुनख्वाई सुबेस्थित पुरातत्व विभागले सम्बन्धित विभागलाई दुई कलाकारको घर सरकारी नियन्त्रणमा लिएर संरक्षण गर्न आदेश दिएको हो ।

    यी घरहरुमा संग्राहालय बनाउने र त्यहाँ यी कलाकारसँगै शाहरुख खानजस्ता अन्य चर्चित बलिउड अभिनेतासँग सम्बन्धित वस्तुहरुलाई संरक्षण र प्रदर्शनीमा राखिने योजना विभागले बनाएको छ । विभागले यसो गर्दा सांस्कृति पर्यटन प्रवद्र्धन हुने जनाएको छ । दीलिपकुमार नामले चर्चित मोहम्मद युसुफ खानको जन्म ११ डिसेम्बर १९२२ मा पेशावरस्थित यही घरमा भएका थियो ।
    उनी १९३० मा आफ्नो परिवारसँगै बम्बई आएका थिए । १९८८ मा जब दीलिपकुमार पाकिस्तान भ्रमणमा गएका थिए, त्यतिबेला उनले पेशावर पुगेर आफ्नो घरको ढोकालाई चुम्बन गर्दै बाल्यकालको सम्झना मानिसहरुसँग बाँडेका थिए ।

    त्यस्तै, कपूर हवेली पेशावरको दिलगन्रा इलाकामा छ । बलिउडमा धेरै सुपरस्टार जन्माउने कपूर खानदानको एउटा पुस्ता यही हवेलीमा जन्मिएको थियो । यो हवेली १९१८ देखि १९२२ सम्म बनाइएको थियो । राज कपूरको पनि यही हवेलीमा जन्म भएको थियो । भारत–पाकिस्तान विभाजनपछि उनको परिवार भारत आयो ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस