अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कोरोना संक्रमण

एजेन्सी

असोज १६ गते : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना लागेको छ । ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन् ।

नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन । ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने देखिएको छ ।

ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै उपराष्ट्रपति माइक पेन्सको रिपोर्ट के आउँछ भन्ने चासो बढेको छ । यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो ।