• The Public Today
  • मेरै मुखबाट सुन्नुस्, जस्तोसुकै अवस्थामा पनि उमेदवारी दिन्छु : निधि


    • केशव सावद

    काठमाडौं, असोज १६ गते । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको आशन्न १४ औं महाधिवेशनमा सभापति पदका लागि चुनावी प्रतिष्पर्धामा होमिने निश्चितप्रायः देखिएको छ । उनी कांग्रेसको आगामी नेतृत्वको ‘कमान’ सम्हाल्न सभापति शेरबहादुर देउवाको साथ र सहयोगको अपेक्षामा छन् ।  यद्यपि, देउवा आशन्न महाधिवेशनमा देउवाको साथ र सहयोग नपाए पनि निधि सभापति पदमा उमेदवारी दिने दृढ मनस्थिति बनाएर बसेका छन् ।

    उनी आफूनिकटका नेताहरुसँग जस्तोसुकै परिस्थितिमा पनि सभापति पदको उमेदवारी दिनबाट पछि नहट्ने बताउँदै आएका छन् । उपसभापति निधिले गत साउन अन्तिम साता सभापति देउवालाई भेटेर उनकै समर्थनमा सभापतिमा उठ्ने बताएका थिए । त्यसयता देउवा र निधिका बीचमा आगामी महाधिवेशनको उमेदवारीको विषयमा दोहोरो कुराकानी भने भएको छैन । र, निधिले सार्वजनिक कार्यक्रममा औपचारिक रुपमा आफू सभापति पदमा उमेदवारी दिने घोषणा पनि गरिसकेका छैनन् ।

    तर, उनी सभापति देउवासँग आफूले आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने बताइसकेपछि काठमाडौंमा उपलब्ध नेताहरुसँग भेटघाट गर्दै आएका छन् भने जिल्ला तहका नेताहरुसँग टेलिफोनमा निरन्तर सम्पर्क गरिरहेका छन् ।

    उपसभापति निधिले सभापतिमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक तयारी तीव्र बनाएको उनी निकटस्थ बताउँदै आएका छन् ।

    “सभापति शेरबहादुर देउवासँग उहाँकै समर्थनमा सभापतिमा उठ्ने बताउनुभएको थियो । त्यसपछि काठमाडौंमा नेताहरुसँग निरनतर भेटघाटमा हुनुहुन्छ । जिल्लामा टेलिफोन सम्पर्क गरिरहनुभएको छ,” उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने, “उहाँले सभापतिमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक तयारी तीव्र बनाउनुभएको छ ।”

    सभापति देउवासँग साउन अन्तिम साता बूढानीलकण्ठमा भएको भेटमा उपसभापति निधिले १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यकता देखिएको भन्दै आफूलाई सघाउन आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले उनलाई १४ औं महाधिवेशनमा आफूलाई सघाउन र १५ औं महाधिवेशनका लागि सभापति पदको तयारी गर्न सुझाएका थिए ।

    तर, उपसभापति निधिले देउवाकै सहयोगमा आफू आशन्न महाधिवेशनमा सभापति पदको उमेदवारीको तयारीमा लागेको भन्दै देउवालाई जसरी पनि सघाउन आग्रह गरेका थिए । उनले १३ औं महाधिवेशनमा आफूलाई दिएको ‘वचन’ पनि भेटमा स्मरण गराएको कुरा सार्वजनिक भएको थियो । त्यसलगत्तै निधि विभिन्न सञ्चार माध्यमहरुसँगको कुराकानीमा आफूले पार्टीको आगामी नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेको प्रतिक्रिया दिएका थिए । कांग्रेसलाई बलियो शक्तिका रूपमा अगाडि बढाउने सोच बनाएर आगामी नेतृत्व सहमतिमा चयन हुनुपर्नेमा उनको जोड थियो ।

    तर, पछिल्लो समय उमेदवारीका बारेमा खासै नखुलेका उपसभापति निधिले आफू आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने प्रतिक्रिया दिए । त्यसका लागि उनी सभापति देउवाको साथ भने खोजिरहेका छन् ।

    “साउन लास्टतिर मैले आफ्नो कुरा सभापति र वरिष्ठ नेतासँग एकै दिन राखिसकेको छु,” उपसभापति निधिले भने, “तर, म शेरबहादुरजीकै समर्थनमा सभापतिमा उठ्छु ।”

    उनले १४ औं महाधिवेशनमा सभापति देउवाको साथ र सहयोग नपाए पनि आफू पछि नहट्नेसमेत दाबी गरे । “उहाँको समर्थन चाहेको छु । नपाए पनि म पछि हट्दैन,” निधिले भने, “पछिल्लो समय मैले उमेदवारीका बारेमा खासै बाहिर कुरा गर्ने गरेको त छैन । तर, मेरै मुखबाट सुन्नुस्– म जस्तोसुकै अवस्थामा पनि उमेदवारी दिन्छु ।”

    निधिले संस्थापन पक्षको समर्थनबिना आगामी महाधिवेशनमा उमेदवारी दिए सभापति देउवालाई ठूलो धक्का लाग्ने आँकलन कांग्रेस वृत्तमा चल्ने गरेको छ । “निधि उठ्नुभयो देउवाको २५ देखि ३० प्रतिशत स्ट्रेन्थ घट्छ,” संस्थापन इतर समूहमा रहेका एक केन्द्रीय सदस्यले भने । -बाह्रखरी


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस