• The Public Today
  • अस्पताल बस्दा गीत-कविता सुनेँ, आइसोलेसनमा उपन्यास पढेँ


    गिरिराजमणि पोखरेल
    काठमाडौं, मंसिर ८ गते ।
    असोज तेस्रो साता डा. गोविन्द केसीको अनसन चलिरहेको थियो। एकातिर उहाँसँग वार्ताको तयारी भइरहेको थियो भने अर्कातिर सार्कस्तरीय शिक्षामन्त्रीहरुको भर्चुअल बैठकको तयारी चलिरहेको थियो।

    असोज २१ गतेदेखि नै मलाई असहज महसुस हुन थालेको थियो। प्रधानमन्त्रीको निर्देशनपछि त्यही दिन शिक्षासचिवको नेतृत्वमा वार्ता टोली बन्यो। २२ गते सार्कको बैठक सकेपछि म बालुवाटार गएँ। प्रधानमन्त्रीसँग वार्ताका एजेन्डाबारे सामान्य कुराकानी भएपछि मन्त्रालय फर्किएँ। मुख्यसचिवलाई पनि हामीले मन्त्रालयमै बोलायौं। वार्ता टोलीका तर्फबाट सचिवले अनौपचारिक रुपमा कुराकानी गरेपछि सम्भावित सहमतिको ड्राफ्ट प्रस्तुत गर्नुभयो। वार्ता सुरु गर्ने टुंगो लगाएपछि करिब ९ बजे हामी उठ्यौं। कोठामा पुग्दा ज्वरो आउलाझैँ भएको थियो। खाना खाएर सुतेँ।

    ncell
    भोलिपल्ट बिहान वार्ता अवरुद्ध भएको समाचार सुनेँ। बिहान ९ बजे हामी मन्त्रालयमा भेला भएर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गयौँ। प्रधानमन्त्रीसँग छलफलपछि वार्ता अघि बढाउने सहमति भयो। मन्त्रालयमा फर्केर गृहकार्य गरी वार्ता अघि बढाउने निर्देशन दिएर म क्वार्टर फर्किएँ।

    त्यही दिउँसोदेखि ज्वरो आयो, जिउ दुखाइ बढ्यो। पछिल्लो पटक स्वास्थ्यमन्त्री हुँदा म कथित स्वाइन फ्लु (एचवनएनवन भाइरस) बाट संक्रमित भएर वीर अस्पतालमा भर्ना भएको थिएँ। त्यतिखेर वीर अस्पतालमा मलाई जाँच गर्ने डा. अशेष ढुंगानालाई क्वार्टरमै बोलाएर स्थिति जानकारी गराएँ। उहाँले केही औषधि दिनुभयो।

    मलाई ज्वरो आएको थाहा पाएर विराटनगरबाट स्वास्थ्यकर्मी अन्जना पोखरेलले फोन गर्नुभयो। उहाँ पनि भर्खरै कोरोनाबाट मुक्त हुनुभएको थियो। उहाँले डा. परवेजसँग सल्लाह गरी एउटा एन्टिबायोटिक सुरु गर्न भन्नुभयो।

    राति ९ बजे ज्वरो १०२ डिग्री नाघेपछि कोभिड १९ कै आशंका गरियो। त्यसबेलै कोरोनाका लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्ने अन्यथा पछि जटिलता उत्पन्न हुने महसुस मैले गरिसकेको थिएँ। बर्दिबासका युवा विष्णु बम्जनलाई बचाउन पनि निकै कठिन भएको थियो। उहाँ सुरुमा लक्षण देखिए पनि घरमै हुनुहुन्थ्यो। पछि स्वास्थ्य बिग्रिँदै गएपछि धुलिखेल अस्पतालमा ल्याइयो। भेन्टिलेटरमा राख्नुपर्ने भएपछि टेकु अस्पतालमा सार्ने प्रयत्न भयो। तर, सम्भव भएन। अन्ततः धुलिखेल अस्पतालमै व्यवस्था गरियो। पछि उहाँलाई प्लाज्मा थेरापी गरेर बचाइएको थियो।

    आफूलाई लक्षण देखिएपछि मैले तुरुन्तै पाटन अस्पतालका डा.पारस आचार्यलाई सम्पर्क गरे। उहाँले पनि अस्पतालमा भर्ना हुन सुझाव दिनु भयो। अस्पतालमा पुग्दा चिकित्सकले ममा देखिएका लक्षणहरु शतप्रतिशत कोरोनाकै भएको आशंका गर्नुभएको थियो। भोलिपल्ट आएको रिपोर्टमा पनि कोरोना पोजिटिभ देखियो।

    अस्पतालमा मलाई असह्य हुनेगरी शरीर दुखेको थियो। २०६२ सालमा ठूलो दुर्घटनामा परेको बेला मेरो शरीरमा २६ ठाउँमा चोटपटक लागेको, भाँचिएको थियो। ती सबै ठाउँहरुमा एकदमै दुख्न थाल्यो। त्यसका अलावा घाँटीमा पनि एक खालको आवाज आउन थाल्यो।

    पहिले संक्रमण हुँदा हामी पोजिटिभ कि नेगेटिभ मात्रै भन्थ्यौं। अहिले भाइरसको मात्रा कति छ भन्नका लागि सीटी भ्यालु हेरिन्छ। मेरो सीटी भ्यालु पनि १२–१६ मात्रै रहेछ। सिटी भ्यालु जति कम भयो त्यति धेरै भाइरसको मात्रा हुने र जोखिम बढी हुने सम्भावना रहने चिकित्सकहरु बताउँछन्।

    त्यसपछि अक्सिजन लेभलपनि एकपटक ९० भन्दा कम देखिएकाले चिकित्सकहरुले रेम्डेसिभिर चलाउनुपर्ने सुझाव दिनुभयो। म भने तत्काल त्यो औषधि चलाउने सोचमा थिइनँ। किनकि पछिल्लो आठदश महिनादेखि म ‘होलिस्टिक ट्रिटमेन्ट’ भनिने वैकल्पिक उपचार पद्दतिमा लागेको थिएँ। चिनियाँ ध्यान पद्दति ताइ ची मास्टर हुआनजुन लीसँग अभ्यास पनि गरिरहेको थिएँ। यिनै तरिकाबाट मैले झण्डै १० केजी तौल पनि घटाएको थिएँ। त्यसैले कोरोनालाई पराजित गर्न सक्ने विश्वास राखेको थिएँ।

    तर डा. मार्क जिम्बर र डा. युवराज शर्मा लगायत चिकित्सकहरु तथा संक्रमणबाट निको भएकाहरुले पनि यस्तो अवस्थामा पुगेको बिरामीलाई रेम्डेसिभिर सुरु गरिहाल्नुपर्छ भन्ने सुझाव दिएपछि प्रोटोकलअनुसार नै मलाई औषधि चलाउन सुरु गरियो।

    मलाई अस्पतालमा पाँच दिन रेम्डेसिभिर र सात दिन डेक्सामेथासोन दिइएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि रेम्डेसिभिर कोरोनाको उपचारमा कति सहयोगी भन्ने विषयमा अनुसन्धान भइरहेको पढेँ। मृत्युदर नघटाए पनि अलिकति सहयोगी बनाएकाले अन्तरिम रुपमा यो औषधि प्रयोग गर्ने गरिएको डाक्टरहरुको जवाफ छ। कोरोनाको उपचारमा रेम्डेसिभिरको प्रभावकारिताबारे नेपाली जनस्वाथ्यकर्मीहरूले थप अध्ययन र छलफल गर्न आवश्यक छ।

    म पहिलेदेखि नै आयुर्वेदिक उपचार पद्धति प्रयोग गर्थेँ। प्रधानमन्त्रीज्यूले फोनमा यस्तो बेला आयुर्वेदिक औषधिले पनि सहयोग गर्छ भन्नुभयो। मैले कीर्तिपुर आयुर्वेदिक अनुसन्धान केन्द्र र नरदेवी आयुर्वेदिक अस्पतालका स्वास्थ्यकर्मीसँग पनि परामर्श गरेँ। उहाँहरुले सुझाउनु भएका औषधि पनि प्रयोग गरेँ।

    पाँच दिन रेम्डेसिभिर र सात दिन अन्य औषधि चलाएपछि मेरो ज्वरो घट्दै गयो। दश दिन अस्पताल बस्दा मलाई अक्सिजन दिनुपरेन।

    अस्पताल बस्दा मैले स्वास्थ्यकर्मीहरुको खटाइलाई नजिकबाट नियाल्न पाएँ। संक्रमणपछि कयौं स्वास्थ्यकर्मी निको भएर पुनः काममा फर्कनुभएको रहेछ। कयौं स्वास्थ्यकर्मीका परिवारहरु पनि संक्रमित हुनुहुन्छ। यद्यपि उहाँहरु बिरामी र आफ्नो परिवारजनको सेवामा निरन्तर लाग्नुभएको छ। उहाँहरुको कुरा सुनेपछि मलाई के अनुभव भयो भने स्वास्थ्यकर्मीले दिएको सेवा र बेहोरेको जोखिम अनुरुप उहाँहरुलाई थप हौसला र उर्जा मिल्ने गरि सुविधाहरु बढाउन जरुरी छ।

    मलाई चिकित्सकले डिस्चार्ज गरिसक्नुभएको थिएन। तर त्यो बेला अस्पतालमा बिरामीको चाप निकै बढेको थियो। त्यसैले मैले ओगेट्ने बेड अर्को बिरामीलाई काम लाग्न सक्छ, घरमै आइसोलेसनमा बस्छु भनेर दशौं दिन डिस्चार्ज भएँ। यद्यपि जिउ दुख्ने क्रम रोकिएको थिएन। होम आइसोलेसनको अर्को पाँच दिनसम्म सिटामोल खानुपर्‍यो।

    घर जाँदा पनि मलाई पोजिटिभ नै थियो। तर सीटी भ्यालु १२ बाट २२–२४ पुगेको थियो। १४ दिन कटेपछि पुनः परीक्षण गर्नुपर्दैन भन्ने मापदण्ड छ। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार संक्रमण भएको १४ दिनपछि संक्रमित व्यक्तिबाट कोरोना अरुलाई सर्दैन। तर म १४ दिनपछि पनि कडा आइसोलेसनमै थिएँ। त्रिवि अस्पतालमा कार्यरत पारिवारिक मित्र गंगा थापा आएर अब सर्ने जोखिम छैन भनेर बुझाएपछि मात्रै हामी आइसोलेसन तोडेर सँगै बसेर खाना खान थाल्यौं।

    एकपटक पोजिटिभ भएपछि नेगेटिभ आउनैपर्छ भन्ने बुझाइ पनि छ। हामीजस्तो सार्वजनिक काममा जानेले अरुको मनोविज्ञानलाई पनि ध्यान दिनुपर्‍यो भनेर म आइसोलेसनमै बसेँ। २१ दिनमा पुनः टेस्ट गराउँदा नेगेटिभ आयो। त्यसपछि काममा निस्किएँ।

    अस्पतालमा हुँदा पनि मन्त्रालयका आवश्यक कामहरु मैले अनलाइनबाटै गरेँ। क्वार्टरमा ११ दिन आइसोलेसनमा बस्दा पनि अनलाइन मिटिङहरु भए। २२औं दिनपछि एकदमै जरुरी भएका काममा म मन्त्रालय गएँ। ३२ दिनपछि म क्याबिनेटमा सहभागी भएको थिएँ। नेगेटिभ आइसकेपछि पनि असर बाँकी हुँदो रहेछ। सुगर एकदम बढ्यो। थकान महसुस भयो। अहिलेपनि एक किसिमले पूर्ण आरामको स्थितिमा पुगेको छैन।

    आइसोलेसनमा योग–ध्यान र अध्ययन
    आइसोलेसनमा बस्दा मैले ध्यानमा समय बिताएँ। यसअघि दुईपटक विपश्यना शिविर गएको थिएँ। आइसोलेसन अवधिलाई मैले विपश्यना पुनरवलोकन गर्ने अवसरका रुपमा सदुपयोग गरेँ।

    २०७२ देखि म प्रेम आलोक भन्ने गुरुबाट ध्यानबाट समाधिमा जाने प्रक्रियाहरु सिकिरहेको थिएँ। कोरोनाको बीचमा अभ्यास गरेँ तर समाधिमा जान सकिएन। युट्युब हेर्दै छोटा ध्यान अभ्यास पनि गरेँ। चक्रध्यानको नयाँ अभ्यास सुरु गरेको छु।

    मलाई कोरोना निको पार्न अस्पतालका मापदण्डको कडाइपूर्वक पालना, खानपिन, योगध्यान र आयुर्वेदले मद्दत गर्‍यो भन्ने लाग्छ। तर, त्यसका असर पूरै ठिक हुन अझै समय लाग्ने देखिन्छ।

    अस्पताल बस्दा पढ्न सकिएन। तर, भारतीय कवि पाश (अवतारसिंह सन्धु)का अडियो कविताहरु सुनेँ। केही पुराना गीतहरु सुनेर मन आनन्दित बनाएँ।

    घरमा आइसोलेसनमा बस्दा भने नाट्यकर्मी राजन खतिवडाले ल्याइदिनुभएको बेन्यामिनको उपन्यास खबुज पढेँ। अरबमा आप्रवासी कामदारको कष्टबारेको यो पुस्तक बेजोडै लाग्यो। दोहोर्‍याएर पढेँ। अहिले युवल नोआ हरारीको सेपियन्स पढ्दैछु।

    अस्पताल बस्दा मलाई क्वार्टरबाटै खाना आउँथ्यो। झोलिलो खानेकुरा बढी खानु भन्ने चिकित्सकको सुझाव हुन्थ्यो। माछामासु खान छाडेको थिएँ। कतिपयले यो बेला माछामासु खानैपर्छ भन्नुहुन्थ्यो। तिब्बती पद्धतिमा आधारित थेरापीमा लाग्नुभएको चिकित्सकले ‘लोकल कुखुरा खाने कोरोना भगाउने’ भनेर पनि म्यासेज पठाउनु भएको थियो। थुप्रै खालका सुझाव आउँछन् तर आफूलाई के उपयुक्त हुन्छ, त्यो गर्नुपर्छ। यो बेला भेज र ननभेजको विवादमा पर्नुहुन्न। आवश्यक कुरा औषधि मानेर खानुपर्छ। झोलिलो खानेकुरा, फलफूलहरु अति आवश्यक छ। भिटामिन सी, भिटामिन डी लिन पनि चिकित्सकले सुझाव दिनुहुन्छ। त्रिफला एकदमै उपयोगी हुन्छ।

    सबैजसो देशमा कोरोना संक्रमणले स्वास्थ्य पूर्वाधार अपुग बनाइदिएको छ। हाम्रो देशमा पनि त्यस्तो समस्या देखिएको छ। गम्भीर बिरामीलाई बेड पुगेको छैन। हामीले सकेसम्म कोरोना लाग्न नदिन सचेत हुनुपर्छ। सँगसँगै आईसीयू, भेन्टिलेटर बेड पनि सरकारले थप्दै, व्यवस्थापन गर्दै लगिरहेको छ। स्थानीय तहले यसका लागि अग्रसरता लिनुपर्छ। केन्द्रीय सरकारमा मात्रै आशा गर्ने होइन। दाताहरु, सहयोगी हात र समुदाय परिचालन गरी मद्दत लिन सक्नुपर्छ।

    कोरोना संक्रमित भएपछि कतिपय घरपरिवारले आफ्नै सदस्यलाई भेदभाव गरेको, वास्ता नगरेको सुन्छु। दुःख लाग्छ। यसबेला घरपरिवारको हेरविचार र साथको झन् धेरै आवश्यकता पर्छ। बुझाइको समस्या छ। चेतनास्तर न्यून छ। यस्तो सोचलाई परास्त गर्न जनचेतना अभियान चलाउन जरुरी छ।

    नेपालमा संक्रमितहरु बढिरहेकाले हामी अप्ठेरो स्थितिमा छौं। सबैले अक्षरशः मापदण्डहरु पालना गर्नु आवश्यक छ। कोरोनालाई हल्का रुपमा लिनु हुन्न। केहीगरी संक्रमित भइहाले आत्तिनु पनि हुँदैन।

    संक्रमित भएको व्यक्तिलाई ज्वरो आएको छ भने अस्पताल गइहाल्नु राम्रो हुन्छ। अझ फोक्सोमा समस्या भएका संक्रमितले सीटी स्क्यान, एमआरआई जस्ता विधि अपनाएर तत्कालै आफ्नो अवस्था यकिन गरे समयमै जोगिन सकिन्छ। नेपालखबर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस