• The Public Today
  • एसिड पीडित आरती प्रकरण : अदालती बयान छिटोछरितो अस्पतालमै मिलाउन माग


    जनकपुरधाम, मंसिर ८ गते : एसिड आक्रमणमा परी घाइते भएकी धनुषाकी आरती साहको अदालती बयान अस्पतालमै गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

    तेजाब आक्रमण विरुद्धको अभियानमा रहेको उज्जवल विक्रम थापाले साह बयानका लागि धनुषा जिल्ला अदालत जान सक्ने अवस्था नरहेकाले छिटोछरितो न्यायका लागि बयान अस्पतालमै लिने व्यवस्था मिलाउन न्यायालयसँग माग गरेका हुन् ।

    गएको कात्तिक २९ गते जनकपुरधाम उपमहानगरपालिका–७ की २६ वर्षीया आरतीमाथि तेजाब आक्रमण भएको थियो । उनको हाल कीर्तिपुर स्थित अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार र छातीको भाग तेजाबका कारण जलेको छ ।

    तेजाब आक्रमणमा संलग्नलाई नयाँ कानुन अनुसार हदैसम्मको सजाय हुनु पर्ने र न्याय प्रक्रियालाई पीडितको पक्षमा छिटोछरितो बनाउनका लागि आरतीको बयान अस्पतालमै हुने व्यवस्था मिलाउन थापाले माग गरेका हुन् ।

    हालै सरकारले तेजाब आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्थासहितको कानून जारी गरेको थियो । फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोनधन गर्न बनेको अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी थिइन् ।

    सो कानून अनुसार तेजाब आक्रमण गर्नेलाई २० वर्षसम्मको जेल सजाय र १० लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई क्षतिपूर्ति दिनु पर्ने सहितका व्यवस्था छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस