• The Public Today
  • आफ्नै श्रीमान्‌काे क्रुरताको शिकार बनेकी आरती : एसिडले आँखाको रोशनी समेत गुम्यो !


    • अजय अनुरागी

    जनकपुरधाम, मंसिर ९ गते । तेजाब आक्रमणबाट पीडित जनकपुरकी आरती साह सोनारको शरीरको प्रारम्भिक शल्यक्रिया गरिएर ‘स्किन ग्राफ्टिङ’को काम सम्पन्न गरिएको छ ।

    काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा आइतवार मंसिर ७ गते ५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो । अस्पतालमा उनको स्याहारसुसार गरिरहेका तेजाब आक्रमण विरुद्धका अभियन्ता उज्ज्वल थापाले दिएको जानकारी अनुसार आरतीको तिघ्रा र पिँडुलाको छाला झिकेर जलेको भागहरूमा स्किन ग्राफ्टिङ गरिएको छ ।

    ‘तेजाब आक्रमणका कारण आरतीको अनुहार, छाति र हात पूर्ण रूपमा जलेको थियो,’ थापाले भने, ‘जलेका ती सबै भागहरूको छाला उधारेर एउटा तिघ्राको छाला मुखमा, अर्को तिघ्राको छाला छातिमा र पिँडुलाको छाला हातमा शल्यक्रिया गरेर लगाइएको छ । ’ 

    उनको आँखामा समेत तेजाब पसेको कारण आँखाले अहिले देख्न छाडेको छ, तिलगंगा अस्पतालबाट आँखाका चिकित्सकले हेरेपछि आँखा पूर्ण रूपमा अन्धो भएको हो कि ठीक हुन सक्छ भन्ने कुरा यकिन हुने उनले बताए ।

    ‘आगामी दुई सातासम्म आरतीको अवस्था पूर्णरूपमा क्रिटिकल रहने भनेर उपचारमा संलग्न चिकित्सकले बताएका छन्,’ थापाले थपे, ‘उक्त जोखिमपूर्ण स्थितिबाट बाहिरिए पनि आरतीलाई पूर्णरूपमा निको हुन कम्तिमा तीन महिनासम्म अस्पतालमै बस्नुपर्ने हुन्छ ।’ पछि पनि पटक–पटक शल्यक्रिया गर्नुपर्ने हुन्छ । 

    गत कात्तिक २९ गते दिपावलीकै दिन उनका श्रीमान सञ्जीवकुमार साह सोनारले उनीसहित चार वर्षीय छोरी रियालाई तेजाबले आक्रमण गरेका थिए । आरतीको मुख, आँखा, छाति र हातमा तेजाबले पोलेका कारण उनको अवस्था गम्भीर छ भने उनको छोरी रियाको हातमा सामान्य घाउ मात्र भएको छ । 

    एक वर्षदेखि आरतीले आफ्नो पतिलाई छाडेर माइती घरनजिक डेरा लिएर बस्दै आएकी थिइन् । विगतमा पनि उनलाई उनका श्रीमानले पटक–पटक कुटपिट गर्ने, हिंसा गर्ने भएका कारण जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा भएको सहमति अनुसार नै अलग भएर बस्दै आएकी आरतीका बुवा सुबोध साह सोनारले बताए ।

    ‘एक वर्षअघि सञ्जीवले मेरो छोरीको टाउको फुटाएको तथा विगतमा पनि करेन्ट लगाएर यातना दिने गरेका कारण मेरो छोरी उनीसँग अलग भएर बस्दै आएकी थिइन्,’ उनले भने, ‘प्रहरीमा भएको सहमतिअनुसार अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरेर कानूनी प्रक्रियामा गएर कानूनअनुसार नै अलग हुने कुरा भएको थियो । तर, कोरोनाका कारण अदालत पनि विगतमा बन्द भएका कारण मुद्दा दर्ता भने हुन सकेको थिएन ।’ 

    आरतीका श्रीमान सञ्जीव सुनचाँदी पसलमा कालीगढको काम गर्छन् । सुनचाँदी सफा गर्ने तेजाबले उनलाई आक्रमण गरेका थिए । सञ्जीवलाई प्रहरीले घटना भएकै दिन पक्राउ गरेको थियो ।

    उनी अहिले प्रहरी हिरासतमै छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले उक्त घटनाको अनुसन्धान गर्नका लागि प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रलाई अनुसन्धान अधिकृत तोकेका छन् । 
    ‘सञ्जीवले विगतमा पनि पटक–पटक धम्की दिने, हेप्ने, हेलाँ गर्ने, तथा घरेलु हिंसा गर्ने गरेका थिए,’ डीएसपी मिश्रले भने, ‘१ वर्षदेखि अलग भएर बसिरहेका कारण बदलाको भावनामा आएर नै तेजाबले आक्रमण गरेको देखिएको छ ।’

    आरतीसँग थप बयान लिनका लागि प्रहरी नै काठमाडौं जानु परे जाने अथवा त्यहाँको प्रहरीसँग समन्वय गरेर पनि बयान लिएर छिट्टै अदालतमा मिसिल बुझाउने तयारी गरिएको उनले बताए ।  

    तेजाब आक्रमणबाट घाइते भएकी आरतीलाई तत्काल उनका परिवारले जनकपुरकै जानकी हेल्थ केयर टिचिङ अस्पतालमा भर्ना गरेका थिए । पछि त्यहाँबाट थप उपचारका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले एम्बुलेन्सको प्रबन्ध गराएर काठमाडौं पठाएका थिए ।

    ‘सीडोओ सा’बले एम्बुलेन्स निःशुल्क नै गराइदिनु भएको थियो,’ आरतीका बुवा सुबोध साह सोनारले भने, ‘जनकपुरको जानकी हेल्थ केयरको अस्पतालमा उपचारको ४ हजार ७०० र  औषधिको ४ हजार भने तिर्नुपरेको थियो । ’ 
    काठमाडौं जानुअघि जानकी प्रहरी चौकीका असई सा’बले यसअघि तेजाब आक्रमणबाट पीडित बनेकी वीरगञ्जकी मुस्कान खातुनसँग सम्पर्क गराइदिनुभएको हुनाले काठमाडौं आउने बेला मुस्कान पनि आफ्नो बूबालाई लिएर आफूहरू पुग्नुभन्दा पहिले नै रहेका कारण उपचारमा सहज भएको उनले बताए । 

    मुस्कानले तेजाब आक्रमण विरुद्धका अभियन्ता उज्जवल थापालाई घटनाको जानकारी गराएका कारण थापा पनि त्यहाँ उपस्थित भएर उपचार गराउने काममा सक्रिय भएका थिए ।

    ‘यहाँ के कसरी गर्ने भन्ने कुरा आफूलाई केही पनि थाहा थिएन, तर उज्ज्वल सर मेरा लागि भगवानसरह नै प्रकट हुनु भएको छ,’ उनले भने, ‘उहाँले नै दिनरात उपचार प्रक्रियामा संलग्न मात्र हुनुभएको छैन, अप्रेसन गर्नका लागि चाहिने २ पोका रगत समेत अन्य ठाउँबाट ल्याइदिनुभयो ।’

    आरतीको हौसला बढाउनका लागि तेजाबपीडित मुस्कान आफ्नो बुवाका साथ प्रत्येक दिन उक्त अस्पतालमा जाने गरेकी छिन् । आरतीको अवस्था बुझ्न अस्पतालमा महान्यायाधिवक्ता अग्नि खरेल पनि अस्पताल पुगेका थिए ।

    ‘आरतीको उपचारमा कुनै पनि किसिमको कसर बाँकी नराख्न तथा उपचामा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले गर्ने भनेर भन्नु मात्र भएन, छुट्टै क्याबिनको व्यवस्था समेत मिलाइदिनु भयो,’ आरतीका बुवाले भने, ‘अदालतमा निरन्तर सुनुवाई गराउन तथा फास्ट ट्रयाकमा मुद्दाको फैसला गराउन आफूले पूरा प्रयत्न गर्ने प्रतिबद्धता समेत जनाएर जानुभएको थियो ।’

    तेजाब आक्रमणका पीडित अस्पतालमा नै महिनौंसम्म बस्नुपर्ने भएका कारण अदालती प्रक्रियामा ढिलाइहुने गरेको छ । ‘मुद्दाको अनुसन्धान गर्नका लागि प्रहरीले अस्पतालमै आएर बयान लिनुका साथै अदालतले समेत आफ्नो प्रतिनिधि पठाएर बयानको काम सम्पन्न गर्न सक्यो र प्रतिवादीलाई छिटोभन्दा छिटो कसूर अनुसार जेल पठाउन सकियो भने मात्र आरतीसँग न्याय हुन सक्छ,’ थापाको कथन छ । 

    २०७७ असोजमा तेजाब आक्रमणसम्बन्धी नयाँ कानून अध्यादेशमार्फत जारी भएको छ । उक्त कानूनअनुसार तेजाब आक्रमणबाट पीडितको प्राथमिक उपचारदेखि सम्पूर्ण उपचारको खर्च नेपाल सरकारले गर्ने भनेका कारण आरतीको उपचार खर्च भने नेपाल सरकारले बेहोर्दै छ ।

    ‘उक्त कानून नहुँदा पहिलेका पीडितहरूको उपचारमा निकै समस्या हुनेगथ्र्योे,’ थापाले भने, ‘पैसाको अभावका कारण नै शरीरका विभिन्न भागका शल्यक्रिया अलग–अलग समयमा गराउनुपथ्र्यो, जसका कारण छालाको रंग पनि फरक–फरक हुन जान्थ्यो ।’ आरतीको उपचारमा १२ देखि १५ लाख रुपैयाँसम्म लाग्ने अनुमान गरिएको छ । 

    यसअघि मुस्कानको उपचारका लागि २ नम्बर प्रदेशको सरकारले ५ लाख रुपैयाँ, संघीय सरकारले ३ लाख रुपैयाँ, वीरगञ्ज महानगरपालिकाको स्थानीय सरकारले ३ लाख रुपैयाँ दिएको थियो भने बाँकी उपचार खर्च थापाले विभिन्न सहयोगीहरूबाट सहयोग लिएर दिएका थिए । 

    आरतीको घटनामा नयाँ कानूनअनुसार मुद्दा दर्ता गरिनुपर्ने थापा बताउँछन् । नयाँ कानून ्अनुसार १ महिनाभित्र उनका श्रीमानलाई जेलमा पठाउनका लागि फैसला छिटोभन्दा छिटो भए मात्र अरू अपराधीहरू तेजाब आक्रमण गर्नबाट त्रसित हुने तथा आरतीले पनि न्याय पाउने उनको कथन छ । 

    नयाँ कानूनअनुसार कसैले कसैमाथि तेजाब छ्यापेर लागेन भने ५ वर्ष, लागेको खण्डमा १० वर्ष र लागेर अंग–भंग भएको खण्डमा २० वर्षको कैद हुने प्रावधान छ । तेजाब आक्रमणकै कारण १ वर्षभित्रमा ज्यान गए आजीवन कारावासको प्रावधान छ । 

    ‘अहिले पनि आरतीको केसमा के हुन्छ, १ वर्षसम्म बाँच्छ वा बाँच्दैनन् भन्ने कुरा शतप्रतिशत यकिन गर्न सकिने अवस्था छैन, दुईवटा व्यक्ति आमा र छोरी दवै जनालाई तेजाब हानेका कारण २० वर्ष र १० वर्ष गरेर कुल ३० वर्षको कैद सजाय हुनुपर्छ,’ थापाले भने, ‘त्यसैगरी १० लाख रुपैयाँ क्षतिपूर्ति समेत दिनुपर्ने कानूनमा प्रावधान राखिएका कारण उसको जेथा सम्पत्ति समेत बेचेर भएपनि दिनुपर्छ ।’ त्यसैगरी नयाँ कानूनमा भएकै प्रावधान अनुसार आरतीको पुनस्र्थापनाका लागि योग्यताअनुसारको सरकारी जागिरदेखि अन्य व्यवस्था समेत मिलाउनु पर्ने उनले बताए ।-लोकान्तर


    क्याटेगोरी : अन्तरवार्ता, मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस