• The Public Today
  • बर्दिवास घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगियो


    • राजकरण महतो

    बर्दिवास, मंसिर ९ गते । प्रहरीको गोली लागि घाइते भएका दुईजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका संजय न्यौपानेलाई हेलिकोप्टरबाट र  श्याम कार्कीलाई एम्बुलेन्सबाट काठमाडौं लगिएको हो।

    उनीहरुको स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको हो। अर्का घाइते अफतब आलमको भने बर्दिबासकै हस्पिटलमा उपचार भइरहेको छ । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही राउण्ड गोली चलाएको थियो । 

    सहिद आलमकी ६ वर्षीया छोरी इन्तजार भनिने गुलाश साह खातुन मंसिर ७ गते बेलुकादेखि बेपत्ता भएकी थिइन्। फुपुको घरमा खेल्दै गर्दा उनी आइतबार साँझ ४ बजेदेखि बेपत्ता भएकी थिइन्। 

    उनको शव सोमबार मध्य रातमा बर्दिबास- १४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा भेटिएको थियो ।हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #बालिका हत्या प्रकरण

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस