चितवनमा खेतीपातीमा यन्त्रको प्रयोग बढ्दो

चितवन, मंसिर ९ गते । चितवनमा पछिल्लो समय कृषिमा यान्त्रीकरणको बढ्दै गएको छ । यन्त्रीकरण बढेसँगै लागत घट्दा किसान लाभान्वित भएका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार, विशेष गरी धान रोप्न, काट्न र झाट्न यन्त्रीकरणको प्रयोग बढ्दै गएको हो ।

अर्कोतर्फ यस्ता यन्त्र महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानविना कृषकले खरिद गर्न कठिन हुने गरेको छ । उनले भने, ‘सरकारी अनुदान नपाउनेले आफैंले किनेर पनि उपकरण प्रयोग गर्न थालेका छन् ।’

यन्त्रको प्रयोग गर्दा मजदूर खर्च ६० प्रतिशत बच्ने र कूल लागतमा २५ देखि ३० प्रतिशत खर्च घट्ने उनले जानकारी दिए । बीउ राख्नका लागि सिडर, रोप्नका लागि ट्रान्सप्लान्टर, काट्नका लागि रिपर र कम्बाइन हारबेस्टर र पराल उठाउनका लागि बेलरको प्रयोग हुँदै आएको छ ।

कतिपय उपकरण गहुँ र मकैलगायत बालीमा पनि प्रयोग हुने गर्दछन् । कतिपय भने एउटा बालीमा मात्रै प्रयोग हुने गर्दछ ।

प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना अझै पनि कृषकहरुले उपकरण प्रयोग गर्दा आफूले पनि काम गर्नुपर्ने भएकाले झन्झट मानेको बताउँछन् । उनी पूरै काम गर्ने गरी खर्च बढी भए पनि मजदूर लगाउने गरेको बताउँछन् । ‘यन्त्रको प्रयोग बढेको छ तर अपेक्षाकृत अझै बढ्न सकेको छैन’ तिमिल्सिनाले भने ।

उनका अनुसार, स्थानीय पालिका, प्रदेश र सङ्घीय सरकारले उपकरणमा ५० प्रतिशत अनुदान दिँदै आएका छन् । कृषकले यो अनुदानलाई ९० प्रतिशतसम्म दिनुपर्ने माग गर्ने गरेका छन् ।

तराई/मधेश क्षेत्रका जिल्लामा धेरै पहिलेदेखि नै जोत्नका लागि ट्र्याक्टरको प्रयोग हुने गरेको थियो । पछिल्ला वर्षमा अन्य उपकरणसमेत प्रयोग हुन थालेको परियोजना प्रमुख तिमिल्सनाले जानकारी दिए ।

सबै कृषकलाई उपकरणका बारेमा ज्ञान नभइसकेकाले ठूला चक्लाबन्दी फर्महरुमा सामूहिकरुपमा तालीम दिन सकेमा यन्त्रीकरणको प्रयोग बढ्दै जाने उनको भनाइ छ । सानासाना जग्गा र सहज उपकरण नपाउँदा पनि कृषकले यसको उपयोग कम गरेको पाइन्छ । सरकारी अनुदान हुँदा पनि धेरै रकम आफैँले लगानी गर्नुपर्दा जति आकर्षण हुनुपर्ने हुन नसकेको कृषकहरु बताउँछन् ।

जिल्लामा अधिकतम उपकरण प्रयोग गर्दै आएको बृहस्पति आधुनिक कृषि फर्मका सल्लाहकार मित्रराज दवाडी यन्त्रीकरण बढाउनका लागि सरकारको अनुदान ९० प्रतिशत हुनुपर्ने सुझाव दिन्छन् । वर्षमा एक महिना धान रोप्ने प्लान्टर खरिद गर्न २५ लाख रुपैयाँ खर्च हुने जनाउँदै उनले वर्षभरि नै उपकरणको प्रयोग नहुने भएकाले लागत मूल्य बढी पर्ने बताए ।

उनले धान रोप्ने, काट्ने, झाट्ने, गहुँ छर्ने र काट्ने उपकरणबाटै गर्दै आएको जानकारी दिए । जमीनलाई चक्लाबन्दी गरेर एकीकृत रुपमा यन्त्रीकरण प्रयोग गरी खेती गरेमा उत्पादन बढाउन र लागत घटाउन सकिने उनको भनाइ छ ।

अहिले नेपालमा भित्रिएका उपकरण सस्ता र कम टिकाउ हुने उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका दवाडीले लामो समय टिक्ने र राम्रा उपकरण भित्र्याउनुपर्ने सुझाव दिए ।

जिल्लाका पूर्व, पश्चिम र माडी क्षेत्रमा यन्त्रीकरणको प्रयोग बढ्दै गएको छ । प्रदेश सरकारले चक्लाबन्दी खेती गर्ने कृषकलाई यन्त्रीकरण र अन्य कामका लागि अनुदान दिँदै आएको छ । अनुदान पाएसँगै यन्त्रको प्रयोग बढ्दै गएको हो । पुरातन खेती प्रणालीमा लागत मूल्यसमेत नउठ्ने भएपछि युवा पुस्ता यन्त्रीकरणतर्फ आकर्षित भएका छन् ।