बर्दिवास घटनाप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौं, मंसिर १० गते । राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाबसा खातुनको हत्या प्रकरणमा भएको आगजनी तथा प्रदर्शनको क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । 

आयोगको एक विज्ञप्तिमार्फत प्रहरीले चलाएको गोली लागी महोत्तरीको बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको जनाएको छ । यसबारे आयोगको प्रदे २ कार्यालय जनकपुरबाट स्थलगत अनुगमन भइरहेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आयोगले महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिकहरू सतर्क र सचेत रहन जरूरी रहेको औंल्याउँदै भनेको छ, ‘अपराधका घटनामा संलग्नहरू उपर कानून बमोजिम कारवाही गर्न, कानून हातमा लिन खोज्ने जो कोहीलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन र मृतक तथा पीडितहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

आयोगले आपराधिक घटनामा कानूनबमोजिम कारवाही गर्ने कार्यमा नेपाल प्रहरीलाई आवश्यक सहयोग पु¥याउन, प्रदर्शनका क्रममा संयमता अपनाउन समेत प्रदर्शनकारीलाई समेत आग्रह गरेको छ ।