बर्दिवास घटनाका दोषीलाई कडा कारवाहीको माग गर्दै गौशाला-सम्सी सडकखण्ड अवरूद्ध

  • आरएन महतो/रामबाबु यादव

गौशाला, मंसिर ११ गते । महोत्तरीको बर्दिवास नगरपालिका–१४ शुभम बस्तीकी ६ वर्षिय बालिका गुलाब साह खातुनको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको घटनाविरुद्ध सम्सीका स्थानीवासीले गौशाला-सम्सी सडकखण्ड अवरूद्ध गरेका छन् ।

पीडितलाई क्षतिपूर्ति र घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै गौशाला-सम्सी सडकखण्ड अन्तरगत सम्सी गाउँपालिका-२ सरसाचोकमा स्थानीयहरूले सडक अबरूद्ध गरेका हुन् । दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग गर्दै गौशाला-सम्सी सडकखण्ड अन्तर्गत तीन स्थानमा स्थानीयहरूले सडक सञ्चालनमा अबरोध पुर्याएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक टिकाबहादुर केसीले बर्दिवासमा बुधबार साँझ स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भइसकेको बताए । बिहिवार विहान जिल्लाको विभिन्न स्थानमा भइरहेको आन्दोलन केहि बेरमा सामान्य हुने उनको भनाइ छ ।

६ वर्षीया बालिकाको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनशमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि मंगबार र बुधबार तनाबमय बनेको बर्दिबास बुधवारको चारबुँदे सहमति पश्चात बिहीबार बिहानदेखि बर्दिबासको अवस्था समान्य बन्दै गएको छ । बुधबार साँझदेखि नै राजमार्ग पूर्ण रुपले सुचारु भएको छ भने बिहीबार बिहानदेखि बजार खुल्न थालेको छ ।

प्रहरीको गोली लागेर मृत्यु भएका संजयलाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिने, दुबै घटनालाई छाविन गरी दोषीमाथि काबराही गने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा सहमति भएको हो । दुबै पक्षबिच भएको समतिलाई कार्यान्वयन गर्न गृहमन्त्रालयलाई आग्रह गर्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

बुधबार साँझ इलाका प्रहरी कार्यालयमा भएको बार्तामा आन्दोलनरत्त पक्षबाट बार्ता टोलिका संयोजक काँग्रेस नेता चिरञ्जीवी हमाल, तुल्सी ढुंगाना, चुडामनिण पोखरेल र हिरा गौतम लगायत थिए । यस्तै प्रशासनको पक्षबाट प्रमुख जिल्ला अधिकारी कटुवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायतका सुरक्षा निकायका प्रतिनिधि रहेको थिए ।

दुवै पक्षबीच प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृहमन्त्रालयमा पहलकदमी बढाउने समझदारीसमेत भएको छ।