• The Public Today
  • बर्दिवास बालिका हत्या प्रकरण: पीडित परिवारलाई नगरपालिकाको राहत


    बर्दिबास, मंसिर ११ गते । महोत्तरीको बर्दिबासमा हत्या गरिएकी ६ बर्षिया बालिका र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुवै घटनाका पीडित परिवारलाई बर्दिबास नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ ।

    पीडित परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको हो । बर्दिबास नगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरेर गोली लागेर मृत्यु भएका परिवारका एक जना सदस्यलाई क्षमताको आधारमा रोजगारी समेत उपलब्ध गराउने निर्णय भएको बताएको छ ।

    दुवै घटनालाई सत्यतथ्य एवंम निष्पक्ष छानविन गर्न न्यायिक आयोग गठन सरकारसंग माग गरिएको छ । बालिका हत्या र गोली लागेर मृत्युभएका दुवै घटनामा दोषी ठहरिनेलाई हदैंसम्मको कारवाहीको माग गरेको छ ।

    ‘मृतक बुद्धिराज(सञ्जय) न्यौपानेलाई शहिद घोषणा तथा दुवै परिवारलाई राहत क्षतिपूर्ति एवं घाइतेको निःशुल्क उपचारका लागि सरकारसंग जोडदार माग गर्दछु,’ बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्की जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘घटनामा दोषी उपर कानूनी कारवाही गर्न स्थानीय सरकार, जनप्रतिनिधि, राजनैतिक दल, नागरिक समाज सबै क्रियाशिल एवंम प्रतिबद्ध छ ।’

    ‘आवेगद्वारा होइन्, विवेक र धैर्यताद्वारा बास्तविकतामा पुग्न र आनाबश्यक टिप्पणी, लान्छाना र आरोपबाट मािथ उठी तथ्यमा आधारित भई आफ्ना बिषयहरु सबैले व्यक्त गर्नु पर्छ,’प्रेस विज्ञप्तीमा मेयर कार्कीले भनेका छन्,‘बिषम परिस्थिमा संयम अपनाई दोषी उपर कानूनी कार्वाही गरि पीडितलाई न्याय उपलब्ध गराउने कार्यमा सहयोग गरिदिन सबैमा अपिल गर्दुछु ।’

    घटनामा घाइते भएका श्याम कार्की र अफताब आलमको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

    आइतबार साँझ गाउँबाटै बेपत्ता भएकी महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीकी गुलाबको शव सोमबार मध्यरातमा उनको घरनजिकैको झाडीमा बोरोमा राखेर फालिएको अवस्थामा भेटिएको थियो । बालिकाको हत्याको विरोधमा प्रदर्शनका उत्रिएका बर्दिबास– १ का ४२ बर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीले चलाएको गोली लागेर उपचारको क्रममा ज्यान गएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस