• The Public Today
  • गुल्मीमा जिप पल्टिँदा ५ जनाको मृत्यु


    काठमाडौं, मंसिर १२ गत्ते : गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा आज (शुक्रबार) बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

    दुर्घटनामा एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

    ‘इस्मा ४ दोहलीको हुल भन्ने ठाउँबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जिप बिहान साढे सात बजे दुर्घटनामा परेको हो,’ एसपी श्रेष्ठले भने, ‘दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएका छौँ, उनी सकुशल छन्।’

    दुर्घटना इस्मा गाउँपालिका ४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ का ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

    दुर्घटनामा सोही ठाउँका १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वति दर्लामी र जीपका सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन्। चालक बुद्ध बस्नेत भने सकुशल रहेका एसपी श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल लगिएको छ। नेपालखबर


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस