शरणार्थीको कोभिड–१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

साङ्केतिक तस्बिर

काठमाडौं,मंसिर १२ गत्ते : सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरेका छन् ।

सरकारले कोभिड–१९ को लक्षण र चिह्न देखिएमा सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा परीक्षण र उपचार निःशुल्क गरेको छ । नेपालमा भूटानलगायत देशबाट शरणार्थीका रुपमा विदेशीहरु बस्दै आएका छन् ।

हालसम्म नेपालमा दुई लाख २७ हजार ६४० सङ्क्रमित, दुई लाख नौ हजार ४३५ जना निको र एक हजार ४१२ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ । रासस