• The Public Today
  • ७३ वर्षमा घरमै नागरिकता


    तनहुँ, मंसिर १३ गते : तनहुँको देवघाट गाउँपालिका–३ निवासी ७३ वर्षीया माया गुरुङले ७३ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्य र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आज घरमै पुगेर उहाँलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

    परिवारका कोही पनि सदस्य नभएका कारण एक्लै बस्दै आउनुभएकी उहाँले नागरिकता नपाएको जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

    देवघाट गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाले आवश्यक कागजातसहित प्रशासनमा सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको बताउनुभयो । नागरिकताको प्रमाणपत्र नहुँदा गुरुङले हालसम्म ज्येष्ठ नागरिक सुरक्षा भत्ता प्राप्त गर्न सक्नुभएको थिएन । गाउँपालिका अध्यक्ष थापाले अब ज्येष्ठ नागरिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया शुरु गरिने जानकारी दिनुभयो ।

    नागरिकताको प्रमाणपत्रसँगै गुरुङलाई चार–पाँच महिनाका लागि पुग्ने खाद्यान्न सामग्री, भाडावर्तन र न्यानो कपडासमेत उपलब्ध गराइएको छ । रासस


    क्याटेगोरी : मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस