• The Public Today
  • स्थायी कमिटीले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिन्छ : मन्त्री भट्टराई


    झापा, मंसिर १३ गते : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन्।

    झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको शनिबार उद्घाटन कार्यक्रमा मन्त्री भट्टराइले यस्तो बताएका हुन्। ‘भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो’, उनले भने।

    मन्त्री भट्टराईले नेकपामा देखिएको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा पार्टी अघि बढ्ने बताउँदै पार्टीको सचिवालय बैठकले समस्या निकास दिन नसके स्थायी कमिटीको बैठकले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिने बताए। उनले भने, ‘स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ।’

    नेकपा अहिलेको अप्ठेरो परिस्थितिबाट विभाजनलाई क्रमभंग गर्दै अघि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपन्थी र चरम वामपन्थीको चलखेललाई विफल तुल्याइने दाबी गरे।

    आगामी वर्ष आन्तरिक पर्यटन वर्ष हुने
    मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिए। उनले कोभिड–१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पु¥याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताए।

    मन्त्री भट्टराईले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएर छुट्टीको अवधिलाई आन्तरिक पर्यटन अभिवृद्धिमा लगाउन आफूले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको उल्लेख गर्दै कोरोना महामारीको संकटबाट गुज्रिएको नेपाली पर्यटन क्षेत्र अब अगाडि बढ्न थालिसकेको बताए।

    सरकारले केही गरेन भन्नेहरुलाई जवाफ
    सरकारले केही गरेन भन्दै नेकपा सरकारको आलोचना गर्नेहरु पूर्वाग्रही भएको उल्लेख गर्दै भनेको बेला भेन्टिलेटर नपाउँदा, खोजेको बेला आईसीयू नपाउँदा सर्वसाधारण जनतामा केही असन्तुष्टि हुनु स्वाभाविक भएता पनि सरकार सुतेर बसेको छ जस्तो गरी आरोप लगाउनेहरुले आफ्नो विगत हेर्नुपर्ने बताए।

    ‘आज मुलुकका ७० वटा प्रयोगशालबाट पीसीआर परीक्षण भइरहेको छ’, उनले भने, ‘हिजो सबैभन्दा लामो समय सत्तामा बसेकाहरुबाटै अहिले केही भएन भनेको सुन्दा अचम्म लाग्छ, हिजो उहाँहरुले कमसेकम २० वटा पीसीआर प्रयोगशाला बनाएर छाडेको भए हुन्थ्यो नि, किन केही नगरेको?’

    विश्वका चीनलगायत थोरै मुलुकले मात्र कोरोनाकालमा आफ्नो अर्थतन्त्रको विकासलाई धेरै तल गिर्न नदिएको चर्चा गर्दै उनले विश्व बैंकको प्रतिवेदनअनुसार अहिले नेपालले यस्तो सङ्कटका बेला पनि दुई दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको स्पष्ट पारे।

    मन्त्री भट्टराईले कोभिड–१९ को सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रले खेप्नुपरेको उल्लेख गर्दै पर्यटन व्यवसायलाई उठाउनका लागि सरकारले रु ५० अर्बको पुनर्कर्जा कोष स्थापना गरेको स्मरण जानकारी दिए।

    ५० करोडको लगानीमा सिद्धार्थ होटल स्थापना
    सिद्धार्थ होटल ग्रान्ड सिटीमा ११ जना उद्यमीको रु ५० करोड लगानी रहेको छ। विर्तामोड नगरपालिका–४ स्थित छ कठ्ठा जग्गामा फैलिएको यस होटलमा लक्जरी तहको ५१ कोठा, पाँच रेस्टुरेन्ट, दुई कन्फरेन्स हल, स्वीमिङ पोखरीलगायत सुविधा छन्।

    यसको व्यवस्थापन सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले हेरिरहेको सो समूहका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले जानकारी दिए।

    सो अवसरमा संघीय सांसद गणेशकुमार पहाडी, प्रदेशसभा सदस्य एकराज कार्की र उद्योग परिसंघ प्रदेश नं १ का अध्यक्ष मीनप्रकाश मैनालीलगायतले पर्यटन व्यवसायको विकासका विविध पक्षमाथि प्रकाश पारेका थिए। रासस


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस