• The Public Today
  • ‘स्पेस–एक्सको क्याप्सुल’ भित्रबाट यस्तो देखियो पृथ्वी


    एजेन्सी, मंसिर १४ गते : अन्तरिक्षको दृश्य अवस्य पनि व्याख्या गर्नै नसकिने अलौकिक किसिमको हुन्छ । अहिले ‘स्पेस–एक्सको क्रु ड्रागन क्याप्सुल’ मा सवार चार मध्येका एक अन्तरिक्षयात्री भिक्टर ग्लोभरले ट्विटरमा यसै सम्बन्धी एउटा भिडियो पोस्ट गरेका छन् । आफ्नो पहिलो अन्तरिक्ष भ्रमणमा क्याप्सुल बाहिर पृथ्वीको दृश्य कस्तो देखिन्छ भन्ने बताउँदै उनले तस्बिर र भिडियो राखेका हुन् । तीस सेकेन्डको भिडियोलाई ट्वीटरमा २१ लाख भन्दा धेरैपटक हेरिएको छ ।
    क्याप्सुलको झ्यालबाट हेर्दा, सबै विस्तृतमा देखिने हुँदा पृथ्वीलाई हेर्ने आफ्नो दृष्टिकोण अत्यन्तै रोमाञ्चक बन्न पुगेको उनले बताएका छन् । भिडियोमा ग्लोभर झ्यालमा बसेर बाहिर हेर्दै व्याख्या गरिरहेको देख्न सकिन्छ । पाइलट एवम् दोस्रो प्रमुख सञ्चालकको काम गरिरहेका ग्लोभरले आफूले देखिरहेको दृश्यको सुन्दरतालाई भिडियोले न्याय दिन नसक्ने पनि बताएका छन् ।

    ‘क्रु–१’ नामक यस मिसनमा नासाका अन्य अन्तरिक्षयात्री माइकल होप्किन्स, सेनन वाकर र जापानी अन्तरिक्षयात्री सोल्ची नोगुची पनि छन् । यो स्पेसएक्सको यानमा उडान भर्ने अन्तरिक्षयात्रीहरु सहितको दोस्रो यात्रा हो । ‘इन्टरनेस्नल स्पेस स्टेसन’, आइएसएसबाट काम गर्दै गर्दा आगामी केही महिनाको आफ्नो ‘नयाँ घर’ देखाउँदै ग्लोभरले ट्विटरमा तस्बिर पनि पोस्ट गरेका थिए ।

    १९८३ मा गुलोन ब्लुफोर्डपछि दर्जनौँ अश्वेत अमेरिकीहरुले अन्तरिक्ष भ्रमण गरिसकेका छन् । तर, त्यसमा पनि आइएसएसमा ‘फुल–टाइम क्रु मेम्बर’ का रुपमा रहने ग्लोभर, पहिलो अश्वेत यात्री हुन् ।

    ‘क्रु–१’ का अन्तरिक्षयात्रीहरुले अबको ६ महिना आइएसएसमा बिताउने अपेक्षा गरिएको छ । त्यहाँ रहेर उनीहरुले विभिन्न वैज्ञानिक अनुसन्धान गर्नेछन् र ‘स्पेस वाक’ अर्थात यान बाहिर हिँड्नेछन् भने नयाँ खोजखबर दिनुका साथै स्पेस स्टेसनको बाहिरी भागहरु मर्मत र सुधार पनि गर्ने बताइएको छ । सीएनएन


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस