• The Public Today
  • राष्ट्रियसभा अध्यक्षद्वारा रामग्राम स्तुप र पण्डितपुर क्षेत्रको अवलोकन


    परासी, मंसिर १८ गते : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्धस्थल प्राचीन रामग्राम स्तूप र पण्डितपुरको अवलोकन भ्रमण गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–७ मा अवस्थित स्तूप र रामग्राम–१८ मा अवस्थित पण्डितपुर क्षेत्रको आज स्थलगत अवलोकन गर्नुभएको हो ।

    रामग्राम स्तूप भगवान् गौतम बुद्धको उत्खनन् नगरिएको सिङ्गो अस्तुधातु रहेको एक मात्र स्थल हो भने पण्डितपुर प्राचीन कोलीय गणराज्यको राजधानी एवं बुद्धको सम्भाव्य मावलीस्थलको रुपमा चिनिन्छ । दुवै पुरातात्विकस्थल महत्वपूर्ण क्षेत्र भएर पनि विकासमा पछि परेको भन्दै अध्यक्ष तिमिल्सिनाले यस क्षेत्रको विकासमा विशेष चासो राख्दै आउनुभएको छ । उक्त अवसरमा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले दुवै पुरातात्विक क्षेत्रको अवस्था र विकासका लागि भइरहेका पहलका बारेमा जानकारी गराउनुभएको थियो ।

    लुम्बिनी विकास कोषका अनुसार भगवान् शाक्यमुनी बुद्धको महापरिनिर्माण पश्चात् तत्कालीन आठ गणराज्यले आफ्नो भागमा पाएका अस्तुधातुमध्ये कोलिया गणराज्यले आफ्नो भागमा पाएको अस्तुधातु राखी रामग्राममा स्तुपको निर्माण गरेको हो ।

    सम्राट अशोकले ईशापूर्व २४९ मा लुम्बिनीलगायत बुद्धस्थलको भ्रमण गरी आठ राज्यले बुद्धको अस्तुधातु राखी बनाएका स्तुप उत्खनन् गरी त्यसलाई विभक्त गरी ८४ हजार ससाना स्तूप बनाउने क्रममा रामग्राममा आउँदा यहाँका नागराजाले रोकेर अस्तुधातु उत्खनन् गर्न नदिएकाले बुद्धको आठ अस्तुधातु प्रयोग गरी बनाइएका स्तूप मध्ये रामग्राममा अवस्थित स्तूप मात्र पवित्र र उत्खनन् नभएको स्तूपको रुपमा मानिन्छ ।

    ईतिहासविद् डा डब्लु होईद्वारा सन १८९९ मा रामग्राम स्तूप पत्ता लगाइएको हो । स्तूप क्षेत्रको संरक्षण तथा विकासको जिम्मेवारी लुम्बिनी विकास कोषको रहेको छ । यसैगरी पुरातत्व विभागका अनुसार पण्डितपुर क्षेत्र नेपालकै महत्वपूर्ण पुरातात्विक क्षेत्र हो । रामग्राम स्तूपदेखि नौ किलोमिटर उत्तर पश्चिममा रहेको स्थलमा सन् २००२ मा पुरातत्व विभागका पुरातत्वविद् शुक्रसागर श्रेष्ठले गरेको प्रारम्भिक उत्खनन्को अनुशरण गर्दै पुरातत्व विभागका पुरातत्वविद्ले सन् २०१२ देखि २०१५ सम्म सो क्षेत्रको थप उत्खनन् गरेका थिए ।

    उत्खनन्का क्रममा प्राप्त सांस्कृतिक तह, प्राचीन संरचना र महत्वपूर्ण पुरातात्विक वस्तुको प्राप्तिले यो ठाउँ लुम्बिनी र कपिलवस्तुको समकालीन भएको पुष्टि गरेको थियो । करिब ६० बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुरलाई उत्खनन्मा संलग्न पुरातत्वविद्ले प्राचीन कोलिय गणराज्यको राजधानी भएको सङ्केत गरेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस