• The Public Today
  • दक्षिण अफ्रिका पुर्‍याएर महिनौंसम्म शोषण


    काठमाडाैं, मंसिर १९ गते । सतुंगल बस्ने ३५ वर्षीय रवीन्द्र नेपाली जुत्ता कम्पनीमा काम गर्थे । घरखर्च चलेकै थियो ।

    एक दिन उनलाई कसैले सुनाइदियो, दक्षिण अफ्रिकामा मासिक एक लाख रुपैयाँ कमाइ हुने काम पाइन्छ । आफ्नै भान्जा र छरछिमेकका अरू युवा पनि जान तयार भएको देखेपछि उनले मन थाम्नै सकेनन् । रवीन्द्र २०७४ साउनतिर पर्यटक भिसामा पूर्वी अफ्रिकी देश मोजाम्बिकको राजधानी मापुतो ओर्ले ।

    त्यसपछिको यात्रामा भने कस्तो भुक्तमान खेपे त्यसको बयान गरिसाध्य छैन । रवीन्द्रसहित तीन नेपालीलाई अवैध रूपमा दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पारेको र अन्य दुईसँग रकम असुलेको आरोपमा आइतबार गणेश लुंगा पक्राउ परेपछि मानव तस्करीको यो घटना सार्वजनिक भएको हो ।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार लुंगाले तीन जनालाई दक्षिण अफ्रिका पुर्‍याएर ४/५ महिनासम्म बन्धक बनाई शारीरिक, आर्थिक तथा मानसिक शोषण गरेका थिए । कान्तिपुरसँग सम्पर्कमा आएका दुई पीडितका अनुसार लुंगाले दक्षिण अफ्रिका पुर्‍याएका तीन जना र पुर्‍याउने अन्तिम तयारीमा राखेका दुई जनाबाट करिब ४० लाख रुपैयाँ असुलेको देखिन्छ । संगठित मानव तस्करीका विभिन्न घटनामा प्रत्यक्ष रूपमा संलग्न लुंगालाई पक्राउ गरेपछि दक्षिण अफ्रिकी देशहरूमा हुने तस्करीका अन्य घटना पनि सार्वजनिक हुने विश्वास ब्युरोको छ ।

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रवीन्द्र भान्जा नवीन सुर्खेतीसँगै कतारको दोहा ट्रान्जिट बनाएर मापुतो पुगेका थिए । काठमाडौंमा भेटिएका मुख्य एजेन्ट लुंगाले उनलाई प्राउन फ्याक्ट्रीमा काम लगाइदिने र मासिक एक लाख हाराहारी तलब हुने विश्वास दिलाएका थिए । दक्षिण अफ्रिकाका लागि रवीन्द्र उड्नुभन्दा केही महिनाअघि मात्रै लुंगामार्फत नै त्यहाँ पुगेका चन्द्रागिरि नगरपालिका–८ का राजेन्द्र बस्यालले पनि रवीन्द्रलाई काम पाइनेमा ढुक्क बनाएका थिए ।

    रवीन्द्रले भने, ‘आफूले चिनेको मान्छेले नै राम्रो काम छ भनेपछि गणेशको विश्वासमा परियो ।’

    रवीन्द्र र नवीनले मापुतो विमानस्थलमा एजेन्टले भनेअनुसार एउटी युवतीलाई सात सय डलर थमाइदिए । पर्यटक भिसामा नेपालबाट मोजाम्बिक आउनेमाथि अध्यागमनले गर्ने शंका र केरकारबाट बचाउँदै ती युवतीले उनीहरूलाई सजिलै विमानस्थल बाहिर पुर्‍याइन् । एजेन्टले बन्दोबस्त मिलाएको गाडीमा एकाध घण्टा चढाएर उनीहरूलाई एउटा घरमा पुर्‍याइयो । जहाँ दक्षिण अफ्रिका नै जान भनेर नेपालबाट एक साताअघि आएका अर्का नेपाली पनि भेटिए । रवीन्द्रले भने, ‘अँध्यारो र फोहोर घर थियो । हामीलाई कहाँ ल्याइएको हो, कतिन्जेल त्यहाँ राख्ने हो केही थाहा दिइएको थिएन ।’

    केही घण्टा त्यो घरमा लुकाएपछि त्यही साँझतिर उनीहरू तीनै जनालाई लिन एउटा गाडी आयो । नवीनका अनुसार केही दक्षिण अफ्रिकी समेत रहेको गाडी एक रात र दिनभर गुडेपछि दक्षिण अफ्रिका छिर्ने सीमानेर पुग्यो । अघिल्लो दिनको लामो उडान र लगत्तैको दसौं घण्टा लामो गाडीमा यात्रा खाना र पानीबिनै गर्दा उनीहरू लखतरान भइसकेका थिए । रवीन्द्रले भने, ‘झन्डै दुई दिनजसो खाना न पानी भयौं । डरले होला, त्यस्तो बेला त पिसाब पनि आउँदो रहेनछ ।’

    सीमामा खटिएका सुरक्षाकर्मीको आँखा छल्न तीन जना अफ्रिकी एजेन्टले उनीहरूलाई जंगलको बाटो हिँडाए । करिब चार घण्टा घनघोर जंगलमा हिँडिरहेका बेला दक्षिणी अफ्रिकी प्रहरीले उनीहरूलाई समातिहाले । रवीन्द्रका अनुसार उनीहरूलाई करिब चार घण्टा त पिठ्युँतिर लगी दुवै हात बाँधेर घुँडा टेकाएर राखे । उनले भने, ‘कञ्चटमा बन्दुक तेर्साएका थिए । त्यतिबेला त लौ जिन्दगी यति नै रहेछ भनेर धरधरी रुन मन लाग्यो । तर रुन पनि सकिनँ ।’
    प्रहरीले उनीहरूका घडी र केही सय डलर खोसे । उनीहरूलाई सीमा पार गराउन खटिएका एजेन्टले के–के भनेर कुरा मिलाएपछि उनीहरूलाई प्रहरीले छोडिदियो । तर गाडी चढ्ने बेला उनीहरूको लगेज फुटाइएको थियो । नयाँ कपडा एउटै थिएन । रवीन्द्रले सुनाए, ‘सुरक्षाकर्मीबाट छुटाउन पैसा खर्च भएको भन्दै एजेन्टहरूले पैसा मागे । नदिएपछि मेरो पासपोर्ट खोसेर लगे । त्यसपछि त मेरो हंसले ठाउँ छाड्यो ।’

    मोजाम्बिकबाट चढेरै आएको गाडीले उनीहरूलाई दक्षिण अफ्रिकाको राजधानीमध्येको एक प्रिटोरियो पुर्‍याएर छाडिदियो । एजेन्टले एक जना बंगाली लिन आउँछ भनेपछि उनीहरू मूल सडकको एकछेउमा झन्डै चार घण्टासम्म कुरेर बसे । दुई जना बंगालीले उनीहरूलाई केही घण्टा गाडी चढाएर एउटा घरमा पुर्‍याए । नवीनका अनुसार उक्त घरमा उनीहरूलाई अरू १२/१५ जनाको हूलमा राखियो । रवीन्द्रका अनुसार उक्त घरमा अवैध रूपमा आउने बंगाली बस्ने र त्यहाँका दुई बंगाली एजेन्टले नक्कली भिसालगायतका कागजात बनाउने गर्थे ।

    घर बाहिर निस्के सुरक्षाकर्मीले समात्छ र त्यसपछि जे पनि हुन सक्छ भनिएपछि तीनै जना नेपाली १७ दिनसम्म उक्त घरमा बन्धकझैं भए । रवीन्द्रले भने, ‘११/१२ बजेतिर थोरै खान दिन्थे । बाहिर जाऊँ भने प्रहरीको डर थियो । कतै हारगुहार गरौं भने फोन पनि थिएन ।’ दिन बित्दै गएपछि बंगालीले खाएको र बसेको पैसा माग्दै धम्काउन थाल्यो । रवीन्द्रका अनुसार उनीहरूकै फोनबाट घरमा सम्पर्क गरी उताबाट बंगाली एजेन्टले भनेको खातामा झन्डै एक लाख रुपैयाँ पठाएपछि उनीहरूको धम्की सुन्न बन्द भयो । त्यसपछि उनीहरूको सम्पर्क मुख्य एजेन्ट गणेशसँग भयो । एजेन्टले उनीहरूलाई प्रिटोरियाबाट ६ सय २४ किलोमिटरको दूरीमा रहेको डर्बन सहर करिब ८ घण्टाको गाडी यात्रापछि पुर्‍यायो । रमणीय सामुद्रिक तटका कारण पर्यटकीय सहरको उपमा पाएको र दक्षिण अफ्रिकाको अन्य सहरभन्दा न्यानो मानिने दुरबान पुग्दा उनीहरू तीनै जना गलिसकेका थिए । रवीन्द्रले भने, ‘एजेन्टलाई भेटेपछि नुहाएर म मस्तले सुतें अनि उठेर पेटभरि खाएँ ।’

    अमेरिकी सरकारले निजी कम्पनीसँग मिलेर देश बाहिरको सुरक्षा अवस्थाबारे अनुसन्धान गर्न गठन गरेको ओभरसिज सेक्युरिटी एडभाइजरी काउन्सिलको सन् २०२० को प्रतिवेदनले अपराधीहरूबाट दुरबानमा गम्भीर सुरक्षा खतरा रहेको भन्दै आफ्ना नागरिकलाई एक्लाएक्लै त्यहाँ जान रोक लगाएको छ । तर यस्तो सुरक्षा खतराबारे रवीन्द्रसहितका ती तीन नेपालीलाई के थाहा ?

    एजेन्टलाई भेटेपछि उनीहरूले थाहा पाए, जुन प्राउन फ्याक्ट्रीमा काम लगाउने भनेर उनीहरूलाई त्यहाँ पुर्‍याइएको हो, त्यो कम्पनी नै त्यहाँ थिएन । उनीहरूलाई दुरबानमा जहाँ राखिएको थियो, त्यहाँ अन्य १२/१३ नेपालीसमेत थिए । ती कसैले पनि भनेअनुसारको काम पाएका थिएनन् र अवैध रूपमा काम गरेकाहरूलाई पनि सुरक्षा खतरा थियो ।

    दिन बितेर साता र साता बितेर महिना हुँदासमेत एजेन्ट लुंगाले उनीहरूलाई काममा लगाउन सकेनन् । लुंगाले काम हुन्छ भन्दै उनीहरूलाई थप केही महिना झुलाए । करिब ५ महिना अलपत्र परेपछि उनीहरू तीनै जना भागेर प्रिटोरियास्थित नेपाली दूतावासको सम्पर्कमा पुगे । नवीनले भने, ‘मुख्य एजेन्ट लुंगालाई बुझाएको सात लाख र खाँदा, बस्दा र फर्किंदाको चार लाखभन्दा धेरै पैसालाई माया मारेर नेपाल फर्कियौं ।’

    मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी अनुराग द्विवेदीका अनुसार पीडितहरूले २०७५ जेठ २ मा लुंगाविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले लुंगाको खोजी थालेको थियो । पक्राउ परेका लुंगालाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ । लुंगाले दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पारेका अन्य धेरै नेपाली भएको हुन सक्ने भन्दै ब्युरोले उनीहरूको खोजी सुरु गरेको छ । कान्तिपुर दैनिकमा जनकराज सापकोटाले खबर लेखेका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस