अब त हेर्दै जाने कुरा त रह्यो, हेर्दै जाउँ… ! कतै त पुगिएला नि…. !!

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महोत्तरीमा गत बडादशैं पर्व (१० कात्तिक २०७७) मा जिल्लाको मटिहानीमा आफ्ना कार्यकर्ता विजयकुमार चौधरीमाथि साङ्घातिक आक्रमण भएविरुद्ध दोषीमाथि कार्वाहीको माग गर्दै जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार (१८ मङ्सिर २०७७) प्रदर्शन ग¥यो । धेरै कालपछि १० औं हजारको जुलुश जलेश्वरबासीले सडकमा देख्न पाए । आफ्ना कार्यकर्तामाथि परेको अन्यायविरुद्ध सम्वद्ध दलले यस्ता प्रदर्शन गर्नु मनासिव नै ठहरिने हो । ठिकै भयो । यद्यपि मेरा मनमा भने कार्यक्रम (प्रदर्शन) हेरी रहँदा केही कुरा खेले ।

केही महिना पहिलेमात्र नेकपाकै प्रस्तावित जिल्ला कमिटी सदस्य भङ्गाहा–५ का रामजुलुम सर्दार (बाँतर) माथि साङ्घातिक आक्रमण भयो । गरिबी, अभाव र धेरैतिरको उपेक्षा सहँदै सधैं पार्टीको झण्डा बोकेर हिंडी रहने सर्दारको त्यो घटना नेकपाका कुनै नेताका लागि विषय बनेन । न्यायका लागि उनी भौंतारी रहे । त्यतिखेरै रामेश्वर सादा (मुसहर) ले मरणासन्न हुने गरी कुटाइ खाए । जिल्लाबाट केन्द्रीय कमिटीमा रहेका झण्डै दर्जन सङ्ख्याका नेता र करिब तीन दर्जन सङ्ख्याका प्रदेश कमिटी सदस्य कसैलाई बाँतर र मुसहरले पाएका प्रताडना बुझ्ने , हेर्ने मन भएन । जिल्लामा कम्युनिष्ट पार्टीको सदस्यता लिएका, यो पार्टीलाई मायाँ गरेको, भोट हालेको कारणले नै जताततै फरक पार्टी विचार समूहको तारो निमुखा गरिब बन्दैछन् । तर अहिले भेटघाट हुँदा मिठो मसिनो ख्वाउन सक्ने, भैपरी आउँदा खर्चवर्च दिनसक्ने र आवतजावतका अत्याधुनिक सुविधा उपलव्ध गराई दिनसक्ने आर्थिक हैसियत भएका व्यक्तिलाई पर्दा जिल्लाका सबै नेताले सामथ्र्य खन्याए ।

मैले यो प्रदर्शनलाई ठिक नै भनेको छु, ठिक नै हो । तर, गरिब दुखी कार्यकर्ताले खेपेका हण्डर र उपेक्षाले नछुने हाम्रो मनबारे चैं घोत्लने कि नघोत्लने ? हामी गरिबको हित गर्ने पार्टी भनेर सदियौंदेखि सामाजिक, साँस्कृतिक , शैक्षिक, आर्थिक र अन्य शोषणको जाँतोमा पिसिदै , थिचिदै, जोतिदै आएका मुसहर, बाँतर, चमार, खत्वे, डोम, हलखोर र यस्तै समुदायका दीनदुखीहरुले कम्युनिष्ट पार्टीलाई आफ्नो ठानेकैले मधेशमा यो पार्टीले खुट्टा अड्याउने ठाउँ बनाएको हो । पछि कालान्तरमा धनाढ्य वर्गका मान्छेले राजनीति गर्ने थलो पनि यसैलाई बनाउँदै जाँदा अब नेताहरु यिनकै सेरोफेरोमा मडारिई रहेका देखिदा छन् ।

म आज (१९ मङ्सिर २०७७) बिहान गोरखापत्र अनलाइनमा श्री श्यामल अधिकारीले लेख्नु भएको ‘फेरिनु पर्ने भाष्य फेर्नै बाँकी छन्’ भन्ने सामग्री पढी रहँदा महोत्तरीको जलेश्वरमा नेकपाको प्रदर्शन त्यत्तिकै सम्झन पुगें । अन्यथा अर्थ नलागोस् , श्री विजयकुमार चौधरीमाथि भएको आक्रमणविरुद्धको प्रदर्शनमा म आफैं पनि सरिक थिंए । रामजुलुम सर्दार र रामेश्वर सादा मुसहर पनि सूर्य र हँसिया हथौडा अङ्कित झण्डा हातमा फरफराउँदै ठूलठूलो स्वरमा नारा लगाउँदै गरेका थिंए ।

समवेदनाले छुन्छ, छोओस् , छुँदैन नछोओस् ! विजयजी जतिको आर्थिक सामथ्र्य भएको , उपल्लो राजनीतिक पहुँच भएको र उहाँजति नेताहरुका लागि बन्दोवस्त गर्नसक्ने रामजुलुम र रामेश्वर भएका भए सायद १८ मङ्सिर २०७७ को जस्तै प्रदर्शन त्यतिखेर पनि हुने थिए होलान् । अब त हेर्दै जाने कुरा त रह्यो, हेर्दै जाउँ…। कतै त पुगिएला नि….!!