चिकित्सकको अभावमा उपचार समस्या

बैतडी, मंसिर २० गते : दरबन्दीअनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ । दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जिल्ला जानुपर्ने बाध्यता कायमै छ ।

लामो समयदेखि जिल्ला अस्पताल र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा नागरिकलाई स्वास्थ्य सेवाप्राप्तिमा असहज भइरहेको छ । जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा स्वास्थ्य सेवा पाउन निकै मुस्किल भएको केशवसिंह भाटले जानकारी दिए ।
पछिल्लो डेढ वर्षयता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको उनले बताए । उनले भने, “तल्लोसोराडवासीको अस्पतालका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा हामीलाई धेरै समस्या भएको छ । सामान्य उपचारका लागि अन्यत्र जानु परिरहेको छ ।”

अहिले मेलौली नगरपालिका मातहत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको पदपूर्तिका लागि आवेदन आह्वान गरेको भए पनि कोही नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । रासस