• The Public Today
  • आठ बुँदे निर्णय गर्दै सकियो ओबिसीको राष्ट्रिय बिस्तारित बैठक


    द पब्लिक टुडे समाचारदाता
    ढल्केवर, मंसिर २० गते ।
    विभिन्न आठ बुँदे निर्णय गर्दै पिछ्डावर्ग(ओबिसी) महासभाको राष्ट्रिय विस्तारित बैठक सम्पन्न भएको छ । शनिवार धनुषाको ढल्केवरमा आयोजित बैठक विभिन्न आँठ बुँदे निर्णय गर्दै सम्पन्न भएको हो ।

    पिछ्डावर्ग(ओबिसी) महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा बसेको बैठकले यथाशीघ्र जन्मसिद्धको आधारमा वंशज नागरिकता प्रदान गर्न सरकारसंग जोडदार माग गरेको छ । बैठकबाट जन्मसिद्धको आधारमा वंशज नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै मंसिर २८ गते मधेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने र उक्त मागलाई एक हप्ता भित्र पुरा नगरे चरणवद्ध रुपमा सशक्त आन्दोलन गर्ने निर्णय भएको ओबिसीका केन्द्रिय सचिव नागेन्द्र सिंहले जानकारी दिए । बैठकले पिछ्डावर्ग(ओबिसी) महासभाको राष्ट्रिय महाधिवेशन अगामी माघ १०, ११ र १२ गते जनकपुरधाममा राख्ने निर्णय पनि गरेको केन्द्रिय सचिव सिंहले जनाए ।

    पिछ्डावर्ग(ओबिसी) महासभाका राष्ट्रिय महासचिव नथुनी कुशवाहाले एक प्रेश विज्ञप्ती जारी गर्दै राष्ट्रिय विस्तारित बैठकले गरेको आठ बुँदे निर्णय समेत सार्वजानिक गरेको छ । आठ बुँदे निर्णयमा तत्कालिन पिछ्डावर्ग समाज ओबिसीबाट हालको संसोधित नाम पिछडावर्ग ओबिसी महासभा अनुसार अब सबै कामकाज गर्न सम्बन्धित सबैमा निर्देशन दिने, नेपाल पिछडावर्ग युवा संघ को विधान २०७७ अनुमोदन तथा पारित गर्ने, यथाशीघ्र जन्मसिद्धको आधारमा वंशज नागरिकता प्रदान गर्न तथा समाजमा भईरहेको सबै प्रकारका विसंगति विकृतिहरु न्यूनीकरण गर्न ठोस कदम चाल्न सरकारसंग जोरदार माग गर्ने, उक्त मागलाई एक हप्ता भित्र पुरा नगरे चरणवद्ध रुपमा सशक्त आन्दोलन गर्ने, पिछडावर्गले उठाउदै आएको मागहरु पुरा गर्न तिनै तहका सरकार संग जोरदार माग गर्नेलगायतको रहेको छ ।

    बैठकमा ओबिसीका राष्ट्रिय समितिका पदाधिकारीहरु, प्रदेश समितिका पदाधिकारीहरु, जिल्ला समितिका पदाधिकारीहरु, ओबिसीको भातृ संगठनका राष्ट्रिय अध्यक्षहरुको उपस्थिती रहेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस