• The Public Today
  • बालिका बलात्कारको आरोपमा १७ वर्षीय एक किशोर पक्राउ


    द पब्लिक टुडे
    गौशाला, मंसिर २० गते ।
    १६ वर्षीया बालिका बलात्कारको आरोपमा १७ वर्षीय एक किशोर बैतडीमा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका हुन् । मंसिर १६ गते आफ्नै घरमा लगेर १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एंव प्रहरी निरीक्षक धनदेव साउदका अनुसार उमेर नपुगेकाले पक्राउ परेका किशोर तथा किशोरीको नाम सार्वजनिक गरिएको छैन । दुवै जनाको जन्मदर्ता मगाएर थप अनुसन्धानको काम भइरहेको छ ।

    पिडीत किशोरीका आफन्तको उजुरीका आधारमा जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    प्रहरी नायब उपरीक्षक अधिकारीले भने, “ जिल्ला अदालत बैतडीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेका छौँ, प्रारम्भिक अनुसन्धानबाट दुवै जनामा प्रेम सम्बन्ध रहेको र आफन्तले थाहा पाएपछि उजुरी गरेको खुल्न आएको छ”, पक्राउ परेका किशोर प्रहरी हिरासतमा रहेका छन् भने किशोरी आफन्तसँगै रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    यसअघि गत हप्ता पनि किशोरी बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा सिगास गाउँपालिका–३ का वडाध्यक्षसहित छ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस