• The Public Today
  • जनकपुर विमानस्थलमा ५३ वर्षपछि बन्यो नयाँ टर्मिनल भवन


    मनिका झा
    जनकपुरधाम, मंसिर २२ गते ।
    जनकपुर विमानस्थलमा ५३ वर्षपछि नयाँ टर्मिनल भवनबाट सेवा सञ्चालन भएको छ । १८ जना यात्रु बोक्ने सानो जहाजका लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म जेनतेन सेवा सञ्चालित थियो ।

    भवन अभावमा यात्रुहरुलाई न्यूनतम सेवा सूविधा समेत पाउन गाहे भएको बेला नव निर्मित अत्याधुनिक टर्मिनल भवनबाट मंगलबारदेखि सेवा सञ्चालन हुने जनकपुर विमानस्थलका प्रमुख किरण गौतमले बताए ।

    ४२ करोडको लागतमा चार रोपनी जग्गामा निर्माण गरिएको नयाँ टर्मिनल भवन नेपालकै पहिलो स्टील स्ट्रक्चरको भवन रहेको जनकपुर विमानस्थल टर्मिनल भवन निर्माण आयोजनाका प्रमुख नल विक्रम थापाले बताए । ‘यस भवनमा तत्कालै सात सय यात्रु एकपटक राखेर सेवा दिन मिल्ने व्यवस्था छ त्यसैगरी सिसिटीभि, फायर अलार्म, सञ्चार सेवा, भीआइपी कक्ष र आमाबच्चा स्यहार कक्ष, धुम्रपान क्षेत्रको समेत बन्दोबस्त मिलाईएको छ ,’ थापाले भने, ‘उल्लेखित बजेटबाटै ३५ जना सुरक्षाकर्मीहरुको लागि आवास गृह, ८० वटा कार र १५० वटा मोटरसाइकलको पार्किङ्स्थल, बगैंचा र अन्य संरचनाको पनि निर्माण गरिएको छ ।’

    २०६९ कात्तिकमा तत्कालीन पर्यटन तथा नागरिक उड्यनमन्त्री पोष्टबहादुर बोगटीले पहिलो चरणमा १८ करोडको लागतमा निर्माणकार्यको शिलान्यास गरेका थिए । डेढवर्षमै काम सक्नेगरी निर्माण कम्पनी पप्पु एण्ड एनके कन्सट्रक्सनलाई ठेक्का दिइएको थियो ।

    तर, निर्माण कम्पनीले समयमा काम नगरी आलटाल गरेपछि ठेक्का तोरेर दोस्रो चरणमा थेगिन जाल्वा उमा एण्ड कम्पनी जेभीसँग सम्झौता गरी काम सम्पन्न गरिएको हो ।

    ‘पुरानो भवनमा ठाउँ अभावले एयरलाईन्सको काउन्टर राख्न पनि समस्या थियो,’ बुद्ध एयरलाइन्सका जनकपुर स्टेसन म्यानेजर विजय सिंहले भने, ‘प्यासेन्जरलाई न्यूनतम सेवासुविधा दिन पनि गाह्रै थियो तर, अब नयाँ भवन भएपछि सेवा विस्तारको अवसर पनि विमान कम्पनीहरुले पाउनेछन् ।’

    जनकपुरमा कार्यालय राख्न खोज्ने विमानकम्पनीहरुलाई पनि अब सेवा विस्तारको अवसर मिल्ने सिंह बताउँछन् । हाल यहाँबाट बुद्ध एयरलाइन्सको ३ वटा यति एयरलाइन्सको १ र श्री एयरलाइन्सको १ गरी पाँचवटा विमानले सेवा दिँदै आएका छन्।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस