जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन आजदेखि सञ्चालनमा

जनकपुरधाम, मंसिर २३ गते । जनकपुरधाम विमानस्थलको आधुनिक नयाँ टर्मिनल भवन आजदेखि सञ्चालनमा आएको छ । दुई वर्षमा निमार्ण कार्य सम्पन्न गर्नुपर्ने टर्मिनल भवन ८ वर्षपछि सञ्चालनमा आएको हो ।

मंगलबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई उद्घाटन गरेका छन् ।

२०६९ कार्तिक महिनामा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए । सो भवन निमार्ण गर्न पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो । तर सम्झौता अनुसार तोकिएको समयमा काम पूरा हुन सकेको थिएन ।

प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माण कार्य पटक–पटक लम्बिँदै आएको थियो । सम्झौता भएको ८ वर्षपछि अब नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ ।

नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यात्रुहरूले भोग्दै आएको समस्याहरु समाधान हुने जनकपुर विमानस्थलका वरिष्ठ अधिकृत विकासकुमार झाले जानकारी दिए। पुरानो टर्मिनल भवनमा ठाउँको अभावमा भिडभाड हुनेगरेको कारण यात्रुहरुले समस्या भोग्दै आइएको उनले बताए ।

नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको झाको भनाइ छ ।जनकपुरधाममा ५ दशकदेखि नेपाल वायुसेवा निगम सेवा दिँदै आएको छ । १८ जना यात्रु बोक्ने जहाजका लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट सेवा दिईँदै आएको थियो ।

जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीनवटा निजी विमान कम्पनीले सेवा दिँदै आएको छ ।

बुद्ध एयरले दैनिक तीन, यति एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौँ उडान गर्दै आइरहेको वरिष्ठ अधिकृत झाले बताए । बुद्ध एयरले सोमबारदेखि नै नयाँ टर्मिनल भवनबाट सेवा दिँदै आए पनि मंगलबारबाट यति एयर लाइन्स र श्री एयरलाइन्सले नयाँ टर्मिनल भवनबाट सेवा दिन सुरु गरेको झाले बताए ।

अहिले जनकपुरबाट दैनिक पाँचवटा उडान काठमाडौँका लागि गर्दै आएको छ । नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि धावनमार्ग बिस्तार गर्ने लक्ष्य रहेको जनकपुरधाम विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए । उनका अनुसार अहिले रहेको १३ सय मिटरको धावनमार्गलाई १५ सय मिटर पुर्‍याइने छ ।

आधुनिक टर्मिनल भवनमा १ सय ५० मोटरसाइकल, ८० वटा कार तथा जिप पार्क गर्न सक्ने क्षमताको पार्किङस्थल बनाइएको छ । टर्मिनल भवनमा अलग्गै स्तनपान कक्ष र धुम्रपान कक्ष समेत बनाइएको जनकपुरधाम विमानस्थलका प्रमुख गौतमले जानकारी दिए ।