• The Public Today
  • इरानको सर्वोच्च अदालतले पत्रकारविरुद्ध मृत्युदण्डको फैसला सुनायो


    तेहरान, मंसिर २३ गते । इरानको सर्वोच्च अदालतले पत्रकार रुहोल्लाह जामविरुद्ध मृत्युदण्डको फैसला सुनाएको छ । जामले सरकारविरुद्ध गतिविधि गरेको तथा सामाजिक सञ्जालमा सरकार विरोधी घृणा फैलाएको भन्दै सरकारले उनीमाथि मुद्दा लगाएको थियो ।

    सरकार विरोधी पत्रकारको रुपमा चिनिने जामले २०१७ मा सरकारको आलोचना गर्दै सोसल मिडियामा अभिव्यक्ति दिएका थिए । ‘हो यस मुद्दामा रिभोल्युसनरी कोर्टले गरेको फैसलालाई सर्वोच्च अदालतले अनुमोदन गरेको छ,’ न्यायपालिकाका प्रवक्ता घोलमहोसेनी एस्माइलीले मंगलबार पत्रकार सम्मेलनको क्रममा बताए ।

    उनका अनुसार अदालतले एक महिनाअघि नै उक्त मुद्दाबारे बहस र फैसला गरिसकेको थियो । पत्रकार जामलाई सरकारले २०१९ को अक्टोबरमा इराकबाट पक्राउ गरेको थियो । उनीमाथिको कारवाहीलाई इरानमा सरकारी अधिकारीहरुले ‘जटिल कारवाही’ को रुपमा अर्थ्याएका छन् ।

    पत्रकार जाम फ्रान्समा रहेर पत्रकारिता गर्ने गरेका थिए । जहाँ उनले अमाद न्युज नामको मिडिया सञ्चालन गरेका छन् । जुन इरानमा अत्याधिक चर्चित छ । यद्यपि सरकारले यसलाई प्रतिबन्ध लगाएको छ ।

    गत जुलाइमा जामका बाबुले प्रधानन्यायाधीश इब्राहिम रइसीलाई पत्र लेख्दै उनको छोरामाथि फाँसीको सजाय इस्लामिक न्यायविरुद्ध हुने दावी गरेका थिए ।

    यसवाहेक जाममाथि फ्रान्स र इजरायलका जासूसीहरुसँग मिलेर इरानविरुद्ध काम गरेको पनि आरोप लागेको छ । साथै इरानको विखण्डीकरणमा हिंसात्मक गतिविधि गराएको आरोप छ । २०१७ मा इरानका विभिन्न सहरमा हिंसात्मक प्रदर्शन गराउने काममा पनि उनको संलग्नता रहेको सरकारको दावी छ ।

    जामले ती सबै आरोप अस्वीकार गर्दैआएका छन् । उनले आफू मिडियाको काममा मात्रै संलग्न रहेको भन्दै आफुमाथिका आरोप खारेज गरेका छन् । इरानमा २०१७ को प्रदर्शनलाई इरानमा पछिल्लो दशककै ठूलो प्रदर्शन मानिन्छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस